www.tandavnews.com
Fact ~ In search of truth

खोटाङमा विदेशबाट फर्किनेको तथ्याङ्क अझै आएन

केदार मगर
खोटाङ, रासस ।

बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट तीन दिन लगाएर गाउँ आइपुगेका उनीहरुलाई वडा नम्बर–४ फाक्टाङस्थित बालकन्य मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो । उनीहरुलाई काठमाडौँबाट घर आउनेक्रममा बाटैबाट क्वारेन्टाइनमा लगेर राखिएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताइन् । ‘बाहिरबाट आएका जोसुकैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ’, उनले भनिन्, ‘उनीहरुलाई खाने, बस्ने तथा स्वास्थ्य उपचारको व्यवस्था गाउँपालिकाले गरिरहेको छ ।’

यस्तै, विदेशबाटै फर्किएका खोटेहाङ गाउँपालिकाका तीन जनालाई पनि मङ्गलबारदेखि नै क्वारेन्टानमा राखिएको छ । वडा नम्बर–९ लिच्कीराम्चेको माविमा बनाइएको क्वारेन्टाइनमा दुई जना र वडा नम्बर–७ खोटाङबजारस्थित स्वास्थ्यचौकीमा निर्माण गरिएको क्वारेन्टानमा एक जनालाई राखिएको हो । चितवनबाट पैदल यात्रा गर्दै घर आएका दुई जनालाई क्वारेन्टाइनमा राखिएको लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताइन् । उनीहरुसँगै गाउँ आएका अर्का व्यक्तिलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जनाइएको छ ।

Batas

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको क्वारेन्टाइनमा पछिल्लो समय एक जना थपिएका छन् । बिराटनगरबाट गाउँ आएका एक युवालाई गत मङ्गलबारदेखि क्वारेन्टाइनमा राखिएका गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताइन् । उनलाई वडा नम्बर–१ याम्खास्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ । हाल याम्खा स्वास्थ्यचौकीको क्वारेन्टाइनमा नौँ जना बसिरहेका छन् भने वडा नम्बर–५ सछितापोखरीस्थित जनचेतना प्रावि तृतीय भञ्ज्याङमा बनाइएको क्वारेन्टानमा छ जना बसिरहेका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा क्वारेन्टाइन बस्नेमा जिल्लाकै सबैभन्दा बढी १५ जना पुगेको छ । जिल्लाका हरेक स्थानीय तहले क्वारेन्टाइन बस्नेलाई खाने, बस्ने र स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा नौँ जना, केपिलासगढी गाउँपालिकामा चार र साकेला गाउँपालिकामा एकलाई क्वारेन्टाइनमा राखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिलेसम्म पनि विदेशबाट फर्किने व्यक्तिको सङ्ख्या यकिन भएको छैन ।

मुख्य नाका छलेर आउनेक्रम अझै जारी रहेकाले तथ्याङ्क आउन बाँकी रहेको कोरोना रोकथाम तथा नियन्त्रा जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । ‘चैतयता विदेशबाट फर्किनेको सङ्ख्या सङ्कलन गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको छ’, उनले भने, ‘लुकीछिपी घर आउनेक्रम अझै जारी रहेकाले तथ्याङ्क आउन बाँकी रहेको हो ।’

जिल्लाका १० स्थानीय तहमा ३७५ शैयाको क्वारेन्टाइन तथा २० शैयाको आइसोलेसन वार्ड तयार पारिएको छ । तर, हालसम्म छ गाउँपालिकाले विदेशबाट फर्किएका स्थानीय बासिन्दालाई क्वारेन्टाइनमा राख्न सकेको छैन । विदेशबाट फर्किएका अधिकांश व्यक्ति घरैमा बसिरहेका छन् । स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने छुट दिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो ।

यसैबीच, जिल्लाका दश वटै स्थानीय तहमा गत चैत महिनायता विदेशबाट घर फर्किएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) शुरु गरिएको छ । उनीहरु रहेको स्थानीय तहमै पुगेर परीक्षण गर्नेगरी शुरु गरिएको अभियान अन्तरगत बिहीबार जन्तेढुङ्गा गाउँपालिकाको १९ जना व्यक्तिमा गरिएको आरडिटि रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

प्रदेश सरकारले १२० वटा किट पठाएपछि जिल्लामा पहिलो चरणमा सोही अनुसार १२० जनाको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए । प्रदेश सरकारले पहिलो चरणमा पठाएको किट अपुग भएकाले थप गर्न माग गरिएको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.