www.tandavnews.com
Fact ~ In search of truth

सुर्खेत : ‘प्रहरीको उद्दण्डताले सीमा नाघ्याे , लकडाउनमा भएकाले नागरिक प्रतिवादमा छैनन्’

सुर्खेत ।

वीरेन्द्रनगर–९ बस्ने प्रकाश आचार्य लामो समयदेखि पत्रिका वितरकको काम गर्दछन् ।

घर नजिकको पसलमा चिनी किन्न निस्केका बेला बुधबार मोटरसाइकलमा आएका प्रहरीले सोधपुछ नगरी एकोहोरो लाठी प्रहार गरे । लाठी प्रहारबाट उनको हात र ढाडमा निलडाम देखिने गरी चोटमात्र लागेन खुट्टाको नङ नै झर्‍यो ।

Batas

“सोध्दै नसोधी एक्कासि देख्नबित्तिकै लौरी प्रहार गरिहाले, म पत्रिका वितरक हुँ, चिनी किन्न निस्केको भन्दा पनि सुनेनन्”, उनले भने, “नजिकै पसल खुला देखेपछि किन्न गएको हुँ, प्रहरीको व्यवहार देखेर अचम्म लाग्यो, त्यत्तिकै कुट्न आवश्यक थियो र?”

रमा केसी रेडियो पत्रकार हुन् । उनी घरदेखि दैनिक चार किमी हिँडेर रेडियो भेरी एफएममा आउछीन् ।

चोक चोकमा भेटिने प्रहरीले उनलाई त्रसित बनाइरहन्छन् । घरको आँगनमै बसेका बेला प्रहरी आफ्ना परिवारमाथि जाइलागेको घटना पनि उनले सुनाइन् ।

“कम्तीमा प्रहरी संयमित हुनुपर्ने हो तर प्रहरी आफैँ दादागिरी गर्दै हिँड्छ”, उनले गुनासो गरीन् ।

यही चैत २९ गते वीरेन्द्रनगर शनिहल लाइनमा साँझपख प्रहरीले पसलमा सामान किन्न आएकालाई पनि त्यसरी नै लाठी हान्यो । पसलको झ्यालको सिसा फुटाइयो ।

व्यवसायी हस्तबहादुर बुढाले जिल्ला प्रशासन र उद्योग वाणिज्य सङ्घले तोकेको समयमा पसल खोल्दा प्रहरीले आतङ्क मच्चाएको दुखेसो पोख्दै उनले भने, “बन्द गर भने हुन्थ्यो नि आफै तोडफोडमा उत्रिए, काउन्टरसमेत फुट्यो, दुःख लागेको छ ।”

लकडाउनलाई कडाइ गर्ने बहानामा सुर्खेत प्रहरीले गरेका ज्यादतिका घटना हुन् यी । यस्ता थुपै्र घटना छन्, जो कतिपय सार्वजनिक हुन पाउँदैनन् ।

लकडाउनको पालना गराउन टोल–टोलमा पहरा दिइरहेको प्रहरीले नागरिकलाई सम्झाइबुझाई गर्नुको साटो उल्टै कुटपिट र तोडफोडमा उत्रिने गरेको पाइएको छ ।

अत्यावश्यक कामको सिलसिलामा घर बाहिर निस्केका सर्वसाधारणलाई सोधपुछ नगरी कुटपिट गरेपछि प्रहरीको चर्को आलोचना हुन थालेको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले लकडाउनको बहानामा प्रहरीद्वारा भएको मानव अधिकार उल्लङ्घनका घटनालाई नजरअन्दाज गर्न नमिल्ने बताए । मानवअधिकारवादी सङ्घ सङ्गठनलाई लकडाउनको प्रभावकारी अनुगमन गर्न अनुरोध गरे ।

सुर्खेतमा नागरिकले प्रशासनको आदेशको पूर्ण पालना गरेकाले तराईका कतिपय जिल्लामा जस्तो यहाँ निषेधाज्ञा लगाउनु पर्ने अवस्था सिर्जना नभएको व्यवसायी बताउँछन् ।

उनीहरुको गुनासो छ, “हामी व्यवसायी र आमनागरिकबाट सहयोग छ, लकडाउनको उल्लङ्घन भएको छैन्, तर प्रहरी संयमित हुन सकेन ।”

“प्रहरीले अनाहकमा कुटपिट गरेका घटना थुप्रै छन्, यतिबेला महामारीको रोकथामका लागि भनेर मानिसहरु चुप लागेर बसेका छन्”, अधिवक्ता नन्द भण्डारीले भने, “प्रहरीको उद्दण्डताले सीमा नाघेको देखिएको छ, लकडाउनमा भएकाले नागरिक प्रहरीसँगको प्रतिवादमा छैनन् ।”

उनले सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउनेलाई स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही सकिने बताए । । शङ्क्रामक रोग ऐन, २०२० मा प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन आकर्षित गरेर लकडाउन उल्लङ्घन गर्नेलाई कारवाही गर्न सक्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले प्रहरीको मनोबल गिराउने उद्देश्यका साथ घटना बाहिर आएको बताए ।

प्रहरीले कुटपिट नगरेको जिकिर गर्दै उनले भने, “यदि कुनै प्रहरीले कुटपिट या पसलै तोडफोड गरे भने सिधै प्रहरी कार्यालयमा गुनासो गर्न सकिन्छ, त्यस्तो सूचना हामीकहाँ आएको छैन ।”

लकडाउन उल्लङ्घन गर्नेले उल्टै प्रहरीलाई निराधर आरोप लगाउने गरेको भन्दै उनले प्रहरी कर्मचारीले उद्दण्डता प्रदर्शन नगरेको बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.