www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोनाबाट १३ हजार ३८७ संक्रमित, ४३७ जनाको मृत्यु

नयाँदिल्ली।

गएको २४ घन्टायता भारतमा एक हजार सातजना कोरोनाभाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ ।

शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड–१९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

Batas

भारतमा देखिएका यी संक्रमितहरुमध्ये एक हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ ११ हजार २०१ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत् रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या २३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४३७ पुगेको छ ।

पछिल्ला केही दिनमा कोभिड–१९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ ।

भारतमा सुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबार पनि योक्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्रमा कोभिड–१९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या तीन हजार २०५ जना पुगेको शुक्रबार उक्त मन्त्रालय जानकारी दिएको छ ।

यसैबीच, महाराष्ट्रमा ३०० जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।

महाराष्ट्र हालसम्म कोरोनाभाइरस संक्रमणबाट १९४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँमात्र एक हजार ६४० जना कोरोनाभाइरस संक्रमित रहेका छन् ।

दिल्लीमा कोरोनाभाइरस संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको जनाइएको छ । यसैबीच, ५१ जना भने उपचारपछि घर फर्किएका छन् ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यसैगरी, यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ ।

तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या एक हजार २६७ जना पुगेको शुक्रबार बिहान जनाइएको छ । यी संक्रमितहरुमध्ये १८० जना भने उपचारपछि घर फर्किएका छन् ।

तमिलनाडुमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ ।

कोराना प्रकोपको संक्रमणको चौथो स्थानमा राजस्थान रहेको र यहाँ एक हजार १३१ कोरोना संक्रमित रहेका शुक्रबार जनाइएको छ । तीमध्ये १६४ जना उपचारपछि घर फर्किसकेका छन् भने तीनजनाको मृत्यु भएको छ ।

त्यसैगरी, भारतको मध्यप्रदेश कोरोनाभाइरसका संक्रमणको पाँचौं स्थानमा रहेको छ । यहाँ एक हजार १२० जना संक्रमित रहेका छन् ।

मध्यप्रदेशमा यस संक्रमितमध्ये ६४ जना निको भएर घर फर्किएका छन् भने ५३ जनाको मृत्यु भएको छ ।

यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या मध्यप्रदेशमा महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको पाइएको छ ।

उत्तर प्रदेशमा कोभिड १९ संक्रमण ८०५ जनामा रहेको छ भने केरलामा ३९५ यो संक्रमण देखिएको छ ।

तेलंगना, गुजरात र छत्तीसगढलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् ।

गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ।

भारतमा कोरोनाभाइरसको संक्रमण बढदै गएपछि सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोक्नको लागि बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

प्रधानमन्त्री मोदीले गत मंगलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने–‘लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिने छ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के–कसरी कार्यान्वयन भएको छ भन्नेबारेमा विशेष अनुगमन गरिनेछ ।’

यदि, राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताएका थिए । रासस/एएनआई

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.