www.tandavnews.com
Fact ~ In search of truth

खै! कति दिनमा पुगिन्छ रोल्पा ?

विक्रम गिरी
काठमाडौँ, रासस ।

नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै योजना थियो –उनको । एक्कासी कोरोना भाइरसको जोखिम आइलाग्यो । लगत्तै लकडाउन शुरु भयो । केही समयका लागि होला भनेर उहाँ लकडाउन खुल्ने आश गरेर बसे । एक हप्ता बित्यो, दुई हप्ता गयो, तीन हप्ता हुँदा पनि लकडाउन खुलेन । लकडाउन चाँडै खुल्ला भन्ने पत्यार भएन । यसमा उनले मन मार्नु भयो । अनी हिँडैर घर फर्कने निर्णयमा पुगे ।

रोल्पा त्रिवेणी गाउँपालिका–७ का अजविर विकका लागि घर फर्कने मन बनाउनु सहज भने पटक्क छैन । उनलाई थाहा छ घर पुगिन्छ वा पुगिदैन । तैपनि हिँडेरै रोल्पा पुग्ने भन्दै यात्रामा निस्कीए । काभ्रेपलाञ्चोकको पाँचखालबाट हिँडेका विकलाई काठमाडौँको नैकाप पुग्नै दुई दिन लाग्यो । “खै कति दिनमा पुगिन्छ रोल्पा, ठम्याउन सकेको छैन”, शुक्रबार दिउँसो नैकापको उकालोमा थकाइ मार्दै गरेको अवस्थामा भेटिएका विकले भने , “हाम्रा लागि गाडी कहाँबाट मिल्ला र, हिँडेरै जाने अठोट गरेका छौँ ।”

Batas

उनीसँगै रोल्पा त्रिवेणी–७ कै देवराज पुनमगर, हर्कबहादुर घर्ती पनि थिए । विकलाई १६ वर्षीय पुनमगरको चिन्ता छ । “केटो आलोकाँचो नै छ, रोल्पासम्म हिँड्न सक्ला की नसक्ला भन्ने दोमन भएको छ”, उनले देवराजप्रति इशारा गर्दै भने  , “तपाइहरुसँगै हिँड्न सकिहाल्छु भन्यो, त्यही भएर सँगै हिँडाएको ।”

तीनै जना एउटै गाउँका हुन् । उनीहरु गत वर्ष मङ्सिरमा कामको खोजीमा काठमाडौँ आएका हुन् । काम खोज्दै जाँदा पाँचखाल पुगे । त्यहाँ घर निर्माणको काम गर्न थाले । देवराज र हर्कबहादुरभन्दा ५६ वर्षीय विक घर बनाउने कामका खप्पिस छन् । त्यसैले उनले दैनिक रु एक हजारको ज्लादारीमा काम गर्दै आएका थिए । “कमाइ राम्रै थियो, यो महामारी आएर बर्बाद पा¥यो”, विकले भने , “यसबीचमा रु ४० हजार जति घर पाए, अरु पैसो साथमै लिएर घर फर्कने मन बनाएको थिए ।” पुनमगर र घर्तीले विकको भन्दा कम ज्यालामा काम गर्दै आएका थिए । दुवैजनाले पनि अहिलेसम्म कमाएको केही रकम घर पठाउन भ्याएका रहेछन् ।

तीनै जना दुई दिनमै थाकिसकेको देखिन्छन् । उनीहरुले सडकमा केही बेर ट्रकलाई रोक्ने प्रयास गरे । “कोही पनि रोक्न मान्दैनन्”, घर्तीले भने , “केही परसम्म लगिदिए बाटो काट्न सजिलो हुन्थ्यो ।” नैकाप आइपुग्दासम्म बाटोभरी खटिएका प्रहरीको खप्की खानु परेको उनीहरु बताउँछन् । “प्रहरीले जताबाट आएको त्यतै फर्किनु भनेर हप्काए”, घर्तीले भने । प्रहरीसित गुहार गरी गरी यहाँ आइपुगेको उनको भनाइ थियो । सरकारले लकडाउनमा कोहीलाई पनि घर बाहिर ननिस्कन भनेको छ । अबको बाँकी गन्तब्यमा पनि रोल्पालीलाई हिँडेरै घर पुग्न सहज हुने छैन । प्रहरीको कुटाइ खाइने हो कि भन्ने चिन्ता उनीहरुलाई छ । “जे परे पर्ला, अब पाँचखाल त कुनै पनि हालतमा फर्कन्नौँ”, उनीहरु भन्दै थिए ।

रोल्पासम्म पुग्नका लागि तीनै जनाले लुगाफाटो, ओड्ने कम्बल, चिउरा र चाउचाउसमेत साथमा बोकेका छन् । “चिउरा र चाउचाउको भरमा पुगिएलाकी भन्ने छ”, विकले भने , “पैसोको चिन्ता छैन, तीनै जनाले बोकेका छौँ, बाटोमा किनेर खान पाइन्छ की पाइन्न भन्ने चिन्ता छ ।” सानो झोलामा उनीहरुले केही प्याकेट चाउचाउ र केही किलो चिउरा पाँखखालबाटै किनेर ल्याएका छन् । जता जता पाइन्छ उतै उतै किन्ने उनिहरुले योजना बनाएका छन् । तीनै जनाले मोवाइल बोकेका छन् । घरमा निरन्तर कुराकानी भइरहेको उनीहरुले बताए ।

घरका जहान परिवारले पनि गाडी नपाइए हिँडैर आउनु भन्ने सल्लाह दिएका छन् । त्यसले पनि उनीहरुलाई उर्जा मिलेको छ । “जति दिन लागे पनि हिँडेरै हाउनु, दुःख सुख घरमै काटौँला भनेका छन्”, श्रीमतीको सल्लाह सुनाउँदै विकले भने । यहाँ बसेर पनि लकडाउन खुल्ने छाँटकाँट नदेखेपछि बरु हिँड्दै जाँदा बाटोमा जे जे पर्ला बेहोरौँला भनेर पाँचखालबाट निक्सकेको उनीहरुले बताए ।

“गाउँका अरु पनि टाढा टाढाबाट हिँडेरै पुगेका न रे”, घरबाट आएको खबर सुनाउँदै विकले भने , “हामी हिँडेरै पुग्न कसो नसकौँला र ?” तीनै जनाको अवस्था देखेर नैकापका स्थानीयवासीले केही बेरसम्म त्यहाँ फाट्टफुट्ट चल्दै गरेका ट्रकलाई रोकाउन प्रयास पनि नगरेका होइनन् । ट्रकका चालक कोही पनि रोल्पालीहरुलाई ट्रक चढाउन तयार भएनन् । “आगे देखा जाएगा’ भन्दै तीनै जना झिटीगुन्टा बोक्दै थानकोटतर्फ अगाडि बढे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.