www.tandavnews.com
Fact ~ In search of truth

सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै चितवन प्रशासन

चितवन ।

गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए ।

राप्ती नगरपालिका–८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) शुरु गरिएको उनले जानकारी दिए । उनले सङ्क्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताए । जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको भट्टराईले जानकारी दिए ।

Batas

उनीहरुको परिवार ठूलो भएकाले सबैको सङ्ख्या यकिन गर्न र सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन् । उनले परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने जानकारी दिइन् ।

उनीहरुको बुधबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा शङ्कास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राति शङ्कास्पद नतिजा आएसँगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । पुनःपरीक्षणका क्रममा दुबै जनामा नै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमित दुबै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताए ।

यसैबीच जिल्लामा हालसम्म ४०५ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । होम र सार्वजनिक क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्ने कामलाई तीव्रता दिइएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए । जिल्लामा आरडीटीलाई तीव्रता दिनका लागि थप किट मगाइएको उनले जानकारी दिए ।  रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.