www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश नं ५ सरकारले स्थानीय तहसँगकाे समन्वयमा पैदलयात्रीलाई गन्तव्यसम्म पुर्‍याउँदै

निरा गौतम/भेषराज गौतम
रुपन्देही, रासस ।

प्रदेश नं ५ सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पु¥याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको छ ।

पूर्वपश्चिम राजमार्गमा काठमाडौंँ, धादिङ, चितवनलगायत जिल्लाबाट आउने मजदूर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापनको काम थालेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । प्रदेशका नाकामा रहेका स्थानीय तहले आफ्नो सीमामा आएका पैदल यात्रुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टाइनमा लगेर स्वास्थ्य जाँँच गर्ने र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने प्रेस सल्लाहकार केसीले बताए ।

सोका लागि प्रदेश नं ५ सरकारले प्रदेशका १०९ वटै स्थानीय तहलाई रु १० लाखदेखि २५ लाखसम्म विशेष अनुदान दिएको छ ।

प्रदेश ५ को पूर्वतर्फको प्रवेश नाका बर्दघाटसम्म आएकाहरुलाई रोकेर त्यहीँका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । बर्दघाटमा एक सय जना अट्ने अस्थायी क्वारेन्टाइन बनाइएको छ । संख्या बढ्दै गएमा राजमार्गमा पर्ने बर्दघाटभन्दा पश्चिमका स्थानीय तहमा व्यवस्थापन गरिने छ । मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनानुसार सुरक्षा निकाय र स्थानीय तहले प्रदेशको सीमाभित्र प्रवेश गरेका नागरिकलाई व्यवस्थापन गर्ने काम शुरु गरेका हुन् । प्रदेश सरकारले यो काम थालेसँगै पूर्वपश्चिम राजमार्गमा पैदलै हिँड्नेहरुको संख्या कम भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री पोखरेलले निरन्तर राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, नागरिक समाजका अगुवा तथा स्थानीय तहका प्रमुखसँग भिडियो संवाद गरेका छन्।

Lama collectio News Middle

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा मुख्यमन्त्री पोखरेलले शुक्रबार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिससका प्रमुख जीतेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खड्का, नागरिक समाजका संयोजक चन्द्रराज पन्तलगायतसँग अहिलेसम्म भएका कामबारे छलफल गरेका थिए ।

छलफलमा मुख्यमन्त्री पोखरेलले स्वास्थ्य सामग्री उपलब्ध भएकाले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा सघाउ गर्न उनीहरुलाई आग्रह गरेका थिए । उनले स्थानीय श्रमलाई प्रयोग गरेर गरिने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकासनिर्माणका काम नरोकी अघि बढाउन पनि निर्देशन दिएका थिए ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट समेत लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । उनले अहिले हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले प्रदेश नं ५ भित्र आइपुगेका सबैलाई प्रहरीको सहयोग लिएर नजीकैको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा छन् । काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आआफ्ना घरतर्फ लागेका छन् । सङ्घीय सरकारले एक पालिकाबाट अर्को पालिका जान समेत रोक लगाएका समयमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापन गर्ने काम थालेको हो ।

प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेशन अस्पतालसमेत निर्माण गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery