www.tandavnews.com
Fact ~ In search of truth

कास्की : ‘कोरोना छेक्न’ बाटोमा अनावश्यक तगारो

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

कोरोना भाईरसका कारण विश्व आक्रान्त छ । नेपालमा समेत संक्रमण देखिएपछि देशले लकडाउनको साहारा लिइरहेको छ । जसका कारण हरेक नेपालीको दैनीकी कष्टकर बन्दै आएको छ ।

सरकारले कोरोना रोकथामको मेरुदण्ड र मुख्य अस्त्र रुपमा लकडाउनलाई लिने निर्णय गरेसँगै गत चैत ११ देखी आदेश जारी गरिएको थियो । चैत १८ गते सम्मको लागि तोकिएतापनि पछिल्लो समय संक्रमण बढ्दै गएपछि दुईपटक समय थप गरी बैशाख १५ गते सम्म पुर्याईएको छ । लकडाउनमा अत्यावश्यक बाहेकका सवारी र ब्यक्ति हिँड्न पाइदैन ।

Batas

लकडाउनलाई प्रभावकारी बनाउने नाउँमा यतिबेला पोखरा लगायत देशभरका विभिन्न स्थानमा तगारो लगाएको देखिन्छ । बाहिरबाट आएका व्यक्तिहरुलाई प्रवेशमा रोक लगाउने बहानामा रुख ढाल्ने, ढुङ्गा जम्मा गर्ने, मुढा तेसार्ने,बाँस र काठ बाँधेर तेसार्ने जस्ता अनावश्यक कार्य भैरहेकै छन् । त्यति मात्र होइन केही ठाँउमा युवाहरुलाई बाहिर निस्कन वाहना चाहिएको हुनाले बन्द गर्ने नाउँमा ७/८ जनाको हुल लट्ठी लिएर थर्काउदै चेकजाँच गरेकाे पाइन्छ ।

माछापुच्छ्रे गाउँपालिका जाने पुल

सार्वजनिक सडकमा यस्तो कार्य गर्न नपाईने भएपनि देखासिकी गर्दै सार्वजनिक सडकहरु एकपछि अर्को अवरुद्ध पारिएका छन् ।

पोखरा महानगरपालिका वडा १ र १६ जोड्ने के.आई.सिंह पुलमा समेत पर्खाल ठड्याईएको छ । अतिसंवेदनशिल मानिने पुल क्षेत्रमा यस्ता कार्य गर्न मनाही छ । अन्य व्यक्ति तथा वस्तु सेवाको आवागमनमा रोक लगाउन र प्रवेश निषेध गर्न स्थानिय तैनाथी हुँदा भने लकडाउनको उल्लङ्घन भएको प्रशासनको बुझाई छ ।

के.आइ.सिंह पुलमा गरिएको अवरोध

‘बाटो पूर्ण रुपमा बन्देज होईन, हामी सचेतनाको लागि हो । हामीले सुरक्षाकर्मीहरुले जस्तो चेकजाँज गर्ने होईन । अनावश्यक हावा खान हिड्नेहरुलाइ सचेत गराउने हो ।’ पोखरा महानगर–१६ का वडा सदस्य राजु गुरुङले भने । दीप युनाईटेड क्लबको समन्यवमा बाटो प्रतिबन्ध नभई सचेतनाको लागि खटिरहेको गुरुङले बताए ।

‘हामीले त्यहाँ लेखेका छौ निषेध होईन तपाईलाई २४ सै घण्टा स्वागत छ । हामीले त्यहाँ साबुन पानीले हात धुने व्यवस्था गरेका छौ । मास्क नलाउने र हुलमा हिड्नेहरुलाई सचेत गराएका छौ । कतै कतै बाँस तेर्साएर पूर्ण रुपमा बाटो बन्द गरिएको छ त्यस्तो नगर्न टोलमा सुझाएका छौ । हामी केवल सचेतनाका लागि यो गरिरहेका छौं । हामीले कुनै सवारी साधनमा रोक लगाएका छैनौ ’ उनले भने ।

पोखरा-३३ बाघमारा

कास्कीको चारै गाउँपालिका र सो पालिकामा रहेका वडाहरुमा प्रवेश गर्न रोक लागाउने भन्दै पुलहरुमा जाली र बाटोहरुमा तगारो निर्माण गरिएका छन् भने पोखरा महानगरपालिकाको ग्रामिण भेगमा पर्ने वडाका गाउँहरुमा समेत सोही प्रकारका तगारो तेसारिएका छन् ।

पोखरा महानगरपालिका–३३ भरतपोखरीमा त्यस्तै माछापुच्छ्रे गाउँपालिका प्रवेश गर्ने सेती नदीको पुलमा समेत पूर्ण रुपमा बन्द गरिएको छ ।

त्यस्तै मादी गाउँपालिका–९ गोर्जेमा समेत बासँको घोचा गाडेर बाटो पूर्ण रुपमा बन्द गरिएको छ जहाँ मोटरसाईकल समेत पास हुन सक्दैन । त्यहाँ झुण्ड्याईएको कार्डमा लेखिएको छ, ‘सुचना ! सुचना !! सुचना !!! ‘लकडाउनको पालना गरौ, अनावश्यक हिड्डुल नगरौ ।’ काम परेमा सम्पर्क गर्नका लागि मोबाईल नम्बर समेत उल्लेख गरिएको छ । यो पौरख मादी गाउँपालिका ९ गोर्जे टोल विकास समितिको हो ।

‘अहिले यस्तो स्थिति छ, पोखरा चितवन तिरका आउनी चौरैतिरका आउनी भएर उच्च सतर्कता अपनाउन भनेर टोलबासी नै भएर निर्णय गरेर बाटो बन्द गरिएको हो ।’ गोर्जेका स्थानिय बसन्त राज अधिकारीले ताण्डव न्यूजसँग भने । उनले शहर तथा विभिन्न स्थानबाट भित्रिने व्यक्तिहरुसँगै कोरोना भित्रिने डर भएकाले टोल विकास समितिकै निर्णयमा बाटो बन्द गरिएको तर्क दिदै दोहोर्याए, ‘हामी पनि कतै नजाने र अरुलाई पनि आउन नदिन भनेर बाटो बन्द गरिएको हो ।’ यद्यपी प्रहरी प्रशासन तथा एम्बुलेन्स तथा खाद्यान्न बोकेका जस्ता अत्वावश्यक सवारी साधनलाई भने रोक नलगाईएको अधिकारीले बताए । ‘वडाबाट प्रदेशबाट सुचना ल्याए खाद्यान्नका सामाग्री बोक्ने गाडीले र बिरामी लिएर आछम भनेर अध्यक्षलाई फोन गर्नुभो भने हामी खोल्छौँ ’ अधिकारीले भने ।

यता जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अत्वावश्यक सवारीलाई प्रतिवन्ध नै लागाउने गरी सार्वजनिक सडक अवरुद्ध गर्न कसैले पाउँदैनन् ।

‘कोरोना विरुद्दको लडाईमा नागरिकको चिन्ता र चाँसोलाई मान्नुपर्छ तर सार्वजनिक सडकहरु अवरुद्ध हुन्न ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले ताण्डव न्यूजसँग भने, ‘सार्वजनिक सडकमा जो पायो त्यही मान्छे नआउन भनेर स्थानीय बसेर लकडाउनको उल्लङ्घन गर्न चाहाने व्यक्तिहरुलाई रोक्न खोज्ने कुरालाई धेरै सिरियस्ली लिईएको छैन तर त्यस्ले अत्वावश्यक सेवा र वस्तुको आवतजावतलाई प्रभावित गर्ने कुरालाई सामान्य मानिदैन । यी दुई वटैको बिचमा रहेर प्रहरी प्रशासनले काम गरिरहेको छ ।’

सार्वजनिक सडकमा जथाभावी ढुङ्गा र पर्खाल तेस्र्याउने कार्य नगर्न प्रशासनले सुचित गरेको बताउदै जबरजस्ती सडक छेकबार गरेको पाईएमा एसपी कार्कीले कारवाही गरिने बताए । ‘कोरोना गाउँमा पनि फैलियो भने समस्या होला भनेर नागरिकको चाँसोलाई सम्मान पनि गर्नुपर्छ तर आफ्नो चाँसो व्यक्त गरिरहदा फेरी अत्वावश्यक वस्तुहरुको आवागमन जस्तो एम्बुलेन्सलाई रोक्ने स्थिति हुन्न, उहाँहरुलाई प्रशासनले त्यस्तो नगर्न भनिसकेछ । यदी जबरजस्ती त्यस्तो गरिएको छ भने कारवाही हुन्छ ’ कार्कीले भने ।

सबै तस्विर : स्थानीयको फेसबुकबाट

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.