www.tandavnews.com
Fact ~ In search of truth

काेराेना जित्दै छिन् बागलुङकी ६५ वर्षीया वृद्धा…

रामबहादुर थापा
बागलुङ, रासस ।

“बाबुलाई नि धन्यवाद छ, आमाको”, उनले कुराकानीको बिट मारिन् । लाग्यो, उनी अस्पतालको श्ययाबाट बोल्दै थिइन् । विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै दिन्नथ्यो ।

“जाती नै छु बा, स्वास्थ्य ठिक छ”, पहिलो जवाफमै उनी दृढ सुनिइन् , “रोग जित्न आत्मबल चाहिने रहेछ ।” कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया उनी चाँडै अस्पतालबाट घर फर्कनेमा निश्चिन्त छिन् ।

Batas

बिहीबार तेस्रोपटक जाँच्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो । चौँथो रिपोर्ट पनि नेगेटिभ आए अस्पताल बसाइ टुङ्गिनेछ । “अस्पताल आएको आज १७ दिन भयो, फेरि जाँच्ने भनेर चिकित्सले स्वाब लानुभएको छ”, उनले भनिन्  “अबको रिपोर्ट पनि नेगेटिभ आए हजुरलाई घर पठाउँछौँ भन्नुभएको छ ।”

धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनको अवस्था सामान्य छ । चिकित्सकका अनुसार पुरानै उच्च रक्तचाप र दमको औषधि नियमित दिइएको छ । “दाँत किराले खाएको भएर प्रेसर केही बढेजस्तो भयो, बीचमा अलिअलि कान दुख्यो, अहिले त एकदम ठिक छु”, उनले भनिन् ।

उनमा कोभिड–१९ को लक्षण न पहिले देखियो न अहिले छ । “दम शुरु भएको १५/१६ वर्षअघि हो, पुरानो समस्याबाहेक अर मलाई केही छैन”, उनले भनिन् , “कोरोना लागेपछि पनि मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो ।” उनमा अहिले पनि उस्तै इच्छाशक्ति छ । “मन बलियो बनाउने र खानपानमा ख्याल गर्ने हो भने रोगसँग लड्न सकिन्छ”, उनले भनिन् , “पानी धेरै पिउनुपर्ने रहेछ, अहिले पनि दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउँछु ।”

पहिले अझ धेरै पानी पिउने गरेको र शरीर गलेजस्तो भएपछि मात्रा केही घटाएको उनको भनाइ छ । उनले अहिले दैनिक बिहान, बेलुका दूध पिउने गर्छिन् । नियमित खाना, खाजाको प्रबन्ध अस्पतालले नै मिलाएको छ । “खाना, खाजा लिएर नर्स नानीहरु आउनुहुन्छ, चिकित्सकहरु पनि बेलाबेला आउनुहुन्छ, फोन गरेर पनि सोध्नुहुन्छ”, उनले भनिन् , “सबै कुरा राम्रो छ, आफ्नै ठाउँको अस्पतालमा बस्न पाइएको छ, सबैले सम्झनुभएको छ, बोल्न पाएकी छु ।”

आइसोलेसन कक्षमा बस्दा मोबाइलमा गीत सुनेर, ‘भिडियो’ हेरेर समय बिताउने गरेको उनको भनाइ छ । बरु, आफूसँगै बेल्जियमबाट आएकी अर्की सङ्क्रमित युवतीको चौथो जाँचको रिपोर्ट पनि पोजेटिभ आएपछि उनलाई ननिको लागेको छ । “उनी पनि मसँगै आएकी नानी हुन्, उनमा पनि नेगेटिभ देखिए कति खुशी हुने थिएँ, जे भए पनि सँगै आइयो, अहिले एउटै अस्पतालमा छौँ”, उनले भनिन् । सोही नगरपालिका–४ की १९ वर्षीया युवती पनि अहिले आइसोलेसनमा उपचाररत छिन् ।

सङ्क्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । युवतीमा चैत १५ र महिलामा चैत २० गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । युवतीको पनि स्वास्थ्य अवस्था सामान्य छ । दुवै जना परिवार र आफन्त भेट्न बेल्जियम पुगेका थिए । “घरबाट फागुन १३ गते हिँडे, काठमाडौँबाट १४ गते उडियो, त्यही राति नै बेल्जियम पुगेँ”, उनले भनिन् , “कान्छी छोरीले बोलाएर एक महिनालाई घुम्न गएकी थिएँ ।” युवती भने बुबाआमा भेट्न गत माघमै बेल्जियम पुग्नुभएको थियो ।

बेलिज्यममा महिलाकी कान्छी छोरी, ज्वाइँ र नातिनातिना बस्छन् । कोरोना सङ्क्रमणको विश्वव्यापी सन्त्रासबीच उहाँ गत चैत ४ गते बेल्जियमबाट नेपाल फर्किएका थिए । घर फर्केपछि पनि सबै ठिकठाकै थियो । कोरोना सङ्क्रमणको न कुनै आशङ्का थियो ।

“घरमा श्रीमान्को श्राद्ध पनि थियो, घरमै बसेँ, नुहाउने, धुने आफैँ गरेँ”, महिलाले भनिन् , “सँगै आएकी नानीलाई कोरोना लागेको थाहा पाएपछि मेरो पनि जाँच भयो, रिपोर्ट पोजेटिभ आयो ।” फ्रान्सबाट दोहा हुँदै आएकी काठमाडौँकी युवतीमा कोरोना देखिएपछि सोही विमानमा फर्किएकी बागलुङकी युवतीमा पनि कोरोना जाँच्दा सङ्क्रमण पुष्टि भएको थियो ।

बागलुङकी १९ वर्षीया युवती नेपालकै पाँचौँ र ६५ वर्षीया महिला छैटौँ सङ्क्रमित हुन् । महिलाको घरमा दुई छोरा, बुहारी, नातिनातिनालगायत छन् । जेठी छोरी पनि बागलुङमै छिन् । उनलाई रिपोर्ट नेगेटिभ आएको पहिलो खबर बिहीबार साँझ छोरीले नै सुनाएकि थिइन् । “रिपोर्ट नेगेटिभ आएको कुरा पछि अस्पतालका नानीहरुले पनि सुनाए, हिजो तेल, काइँयो पनि ल्याइदिए, आज त बिहानै कपाल कोरेर, नङ्ग काटेर बसेकी छु”, उनले भनिन्  । घर फर्कन र परिवारका सदस्यलाई भेट्न उनी व्यग्र प्रतिक्षारत छिन् ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कुनै औषधिबिनै सङ्क्रमित महिला कोरोना भाइरससँग लडिरहेको बताए । “कोरोनाको कुनै लक्षण पनि देखिएको छैन, उहाँमा उच्च रक्तचाप र दमको पुरानै समस्या भएकाले विशेष निगरानी भने गरिरहेका छौँ”, उनले भने । प्रमुख चिकित्सक पोखरेलका अनुसार चौथो जाँचका लागि महिलाको स्वाब शुक्रबार पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । “कहिलेकाहीँ रिपोर्ट ढिलो आउँछ, दोहो¥याएर पनि जाँच्नुपर्ने हुनुसक्छ”, उनले भने , “आशा गरौँ, आजै साँझसम्ममा रिपोर्ट आउनेछ ।”

चौथो जाँचको रिपोर्ट पनि नेगेटिभ आए महिलालाई ‘डिस्चार्ज’ गर्ने अस्पतालको तयारी छ । लगातार दुईपटक जाँच्दा कोरोना भाइरस नेगेटिभ देखिएमा मात्र सङ्क्रमितलाई घर पठाउन मिल्ने चिकित्सक बताउँछन् । पछिल्लोपटक गरिएको जाँचमा नेगेटिभ रिर्पोट आएपछि उपचारमा संलग्न चिकित्सकसमेत उत्साहित छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.