www.tandavnews.com
Fact ~ In search of truth

मौसममा सुधार आउन केही दिन लाग्ने

काठमाडौँ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । अहिले प्रिमनसुनका साथै पश्चिमी वायुको प्रभाव रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ ।

Batas

मौसमविद् अर्याललका अनुसार नेपालको पश्चिमी भूभागबाट पश्चिमी वायु विकसित हुने क्रममै रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने छ । आज बिहान केही समय मौसम खुले पनि अपराह्नपछि देशभर बदली भई वर्षाको सम्भावना रहेको बताइएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा रहेको पश्चिमी वायु अझै सक्रिय हुने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल देशको पहाडी भूभागमा सामान्य र तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । भोलि देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । यसका साथै भोलि पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.