www.tandavnews.com
Fact ~ In search of truth

‘काठमाडौं पोस्टको खोजी र हाम्रो पत्रकारिता’

– अर्जुन गिरी

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले जिल्लाका पत्रकारलाई कोरोना सुरक्षाका लागि एन ९५ मास्क, पञ्जा, स्यानिटाइजर लगायत सामग्री वितरण गर्न नवलपुर गएको थिएँ । बिहीबार बिहानै काठमाडौं पोस्टको प्रथम पृष्ठमा छापिएको ‘खोजी स्टोरी’ देखेर अचम्मित भएँ । पोखरा फर्किएर फेरि पढेँ । र यति लेख्न आवश्यक ठानें ।

पत्रकार आचार संहितामा अर्को सञ्चार माध्यमले लेखेको समाचारको खण्डन छुट्टै सञ्चार माध्यमबाट गर्न मिल्दैन । यहाँ म खण्डन लेख्न गइरहेको छैन । हामीले गर्ने पत्रकारिता, हाम्रो समाचारका बारेमा उठेका प्रश्नहरुका बारेमा यति नलेख्दा हाम्रा पाठकलाई अन्याय हुने ठानेर यो लेख्न बसें ।

Batas

ताण्डव न्युजले लेखेको समाचारहरुलाई पछ्याएर ‘द काठमाडौं पोस्ट’ले बिहीबार प्रथम पृष्ठमा एउटा स्टोरी प्रकाशन गर्यो । यो स्टोरीले ताण्डव न्युजलाई कसरी झुठ र अमेरिकी नागरिक मिसेललाई सत्य सावित गर्न भरमग्दुर प्रयास गरेको छ ।

रिपोर्टमा मिसेलका बारेमा ताण्डवले लेखेका समाचार व्यक्तिगत पूर्वाग्रहबाट ग्रस्त भएर लेखेको भन्ने भाव दिएको छ । दी काठमाडौं पोस्टका फिचर सम्पादक प्रणय एसजेबी राणा र क्राइम रिपोर्टर शुभम ढुङ्गानाको बाइलाइनमा छापिएको यो स्टोरी र ताण्डवले लेखेको समाचारका बारेमा यहाँ हामीले हाम्रो धारणा उल्लेख गर्न आवश्यक ठान्यौं र यो लेख्न बाध्य भयौं ।

हामीले पेश गरेको रिपोर्टमा मिसेल कसरी नेपाल आइन् ? यहाँ के काम गर्छिन् ? भन्ने कुरा उल्लेख गरेका छौं । अहिले त्यता जान्नौं । किनकी हामीले त्यो लेखिसकेका छौं । हामीले जोड दिएको विषय चाहिँ बिजनेस भिसामा आएको विदेशीले नेपालमा चन्दा उठाउन पाउँछ कि पाउँदैन भन्ने हो । जुन उनी आफैले आप्mनो वेबसाइटमा  ७ करोड बढी नेपाली रुपैयाँ चन्दा उठाएको उल्लेख गरेकी छिन् ।

हेर्नुस्

http://www.michellewelsch.com/about-me/

काठमाडौं पोस्टले मिसेलले पोखराको माटेपानी गुम्बाका लागि १० हजार अमेरिकी डलर चन्दा उठाएर सहयोग गरेको उल्लेख गरेको छ । तर एक महिना लामो खोजी गरेको दाबी गरेको यो स्टोरीमा त्यसरी चन्दा को को सँग उठाइन् ? चन्दा उठाउन नेपालका कुन चाहिँ सरकारी निकायसँग अनुमति लिएको छ ? र उसले चन्दाबाट आम्दानी खर्च कुन निकायमा बुझाएकी छिन् भनेर उल्लेख गरेको छैन ।

हामीले हाम्रो रिपोर्टहरुमा यो प्रश्न उठाएका छौं । उनले माटेपानी गुम्बामा सहयोग गर्नका लागि भनेर मात्र होइन, नेपालमा ‘लर्निङ हाउस’ नामक प्राइभेट कम्पनी खोल्नका लागि पनि चन्दा उठाएकी थिइन् । माटेपानी गुम्बाका लागि चन्दा उठाएकै वेबसाइटबाट उनले लर्निङ हाउस नामक कम्पनी स्थापना गर्न चन्दा सकलन गरेकी छन् ।

मिसेलले विश्वव्यापी रुपमै चन्दा संकलन गर्न प्रयोग गरिने वेबसाइट ‘इन्डिगोगो’ मार्फत १२ हजार अमेरिकी डलर सहयोग माग्दै चन्दा आह्वान गरेकी थिइन् । तर उक्त वेबसाइटले भने उक्त आह्वानमा १४ हजार १ सय ७६ अमेरिकी डलर संकलन गरेको उल्लेख गरेको छ ।

हेर्नुस्,
https://www.indiegogo.com/projects/the-learning-house-an-education-center-in-nepal?fbclid=IwAR2UHp2U3_bq7MlVsGBTW9T1p3Wm3pmIK87E1ULj_RbeqWaVf84mYDX3Fqs#/

तथ्य यति पारदर्शी हुँदा हुँदै काठमाडौं पोस्टले ‘एक महिना लगाएर गरेको खोजी स्टोरी’ले यसलाई पनि झुठो भनिदिएको छ । पोखरामा बसेर मैले ११ वर्ष पत्रकारिता गर्दा अहिलेसम्म तथ्यमा चुकेको छैन । विशेष गरी अपराध बिटमा कलम चलाउँदा आजसम्म कसैले पनि मैले प्रस्तुत गरेका तथ्यमा प्रश्न उठाएका छैनन् । तथ्य पुष्टि नभई हामी कुनै पनि समाचार प्रकाशित गर्दैनौं ।

खोज पत्रकारिता हुनका लागि कम्तीमा उसले के गरिराखेको छ ? र कानुनले के भन्छ ? भन्ने कुरालाई ध्यान दिनुपर्छ भन्ने कुरा मैले पत्रकारितामा स्नातकोत्तर गर्दा नै पढेको थिएँ । पत्रकारिता निकै संवेदनशील हुने भएकाले नै हामीले हाम्रा समाचार तथ्यसंगत बनाउन जोड दिएका हौं ।

काठमाडौं पोस्टले ताण्डव न्युजलाई स्थानीय अधिकारीसँग राम्रो सम्बन्ध भएकाले उनको केस अगाडि बढ्न नदिएको दाबी गरेको छ । म काठमाडौं पोस्टका पत्रकार मित्रहरुलाई चुनौती दिन चाहन्छु, तपाई यो पुष्टि गर्न सक्नुहुन्छ भने म पत्रकारिता छाड्न आजकै मितिमा तयार छु । सक्नुहुन्न भने तपाई के गर्न सक्नुहुन्छ ?

मिसेल आफैले सञ्चालन गरेको खाता लाइफबाट उनले कति पैसा उठाइन् भनेर काठमाडौं पोस्टको स्टोरीमा उल्लेख छैन । इन्डिगोगोबाट कति पैसा उठाइन भन्ने पनि छैन । त्यो पैसा कहाँ छ ? केमा खर्च गरिन्, र नेपालीको नाममा यसरी पैसा उठाउन कसले अधिकार दियो ? कानुनी प्रावधान के छ ? भन्ने कुरा ‘खोजी स्टोरी’मा छैन । नेपाली कानुनले बर्जित गरेको काम गर्न विदेशी वा अमेरिकी नागरिकलाई छुट कसरी हुन्छ ? उत्तर पाठक आफैंले खोज्नुपर्छ, काठमाडौं पोस्टले खोजेन ।

काठमाडौं पोस्टले पोखरास्थित लेभल नेक्स्टका सञ्चालक राजु बोगटीको प्रभावमा परेर ताण्डव न्युजले समाचार लेखेको भनेर उल्लेख गरेको छ । राजु बोगटी पोखरामा फोटोग्राफी र भिडियोग्राफी गर्छन् । हाम्रो वेबसाइट डिजाइन उनकै कम्पनीले गरिदिएको हो । यस बापत हामीले उनको रेट अनुसार भुक्तानी दिइसकेका छौं । यति भएकै भरमा हामीले मिसेलले गरेको बदमासीका बारेमा समाचार लेख्न नहुने हो ? काठमाडौं पोस्टको नारा ‘विद आउट फेयर अर फेवर’मा यो स्टोरी मिसेलको ‘फेवर’मा छ कि छैन ? योचाहिँ खोजीको विषय हुनसक्छ ।

काठमाडौं पोस्टले गरेको अर्को दाबी छ । मिसेलको कम्पनीले गलत काम गरेको छैन । स्थानीय अधिकारीहरुले गरेको अनुसन्धानमा केही पनि भेटिएन भनेको छ । तर खासमा स्थानीय अधिकारीहरु विदेशमा पैसा उठाएको विषय भएकाले अनुसन्धान गर्न अन्योलमा परे । अध्यागमनबाटै अनुसन्धान हुने अपेक्षा र विश्वास पनि उनीहरुले गरे ।

पत्रकारिताले उठाउने भनेकै प्रश्न हो । राज्यका निकायलाई विधिमा चल्न र विधि अनुसार काम भए÷नभएको हेर्ने पनि पत्रकारिताको जिम्मेवारी हो । हो, हामीले त्यही गरेका हौं । कुनै पनि विदेशीले नेपालमा बसेर विश्वव्यापी रुपमा चन्दा उठाउन पाउँदैन भन्ने अध्यागमन ऐनमा उल्लेख छ । हामीले यही ऐन पछ्याएका हौं । तर काठमाडौं पोस्टको खोजी पत्रकारितामा विदेशीले पैसा उठाउन पाउने नपाउनेबारे ऐन कानुनले के भन्छ भनेर कहीं उल्लेख छैन ।

अर्को, ह्यारेसमेन्टको कुरा छ । हामीले यसबारे जिल्ला प्रशासन कार्यालय पुगेर बुझेका थियौं । त्यतिबेला तत्कालीन सिडियो हाल अध्यागमन विभागका निर्देशक रमेश केसीले हामीसँग यसो भनेको रेकर्ड सुरक्षित छ । ‘मिसेलले राजु बोगटीले ह्यारेसमेन्ट गरेको भनेर एक वर्ष पुराना म्यासेज लिएर आएकी थिइन् । किन त्यतिबेला नआएको भनेर सोध्दा त्यतिबेला ठिक लागेको थियो अहिले लागेन भनेर जवाफ दिइन् । ह्यारेसमेन्टको मुद्दा चलाउन कानुनी रुपमा समय गुज्रिएका कारण मुद्दा चलाएनौं ।’

ह्यारेसमेन्टका बारेमा हामीले समाचार बनाउन चाहेका थियौं । तर कानुनी रुपमा आधार पाएनौं । मिसेलका ह्यारेसमेन्ट आरोपका बारेमा हामीले लेभल नेक्स्टका राजु बोगटीलाई सोध्यौं । बोगटीले दुईजना बीच म्यासेज पठाउने क्रममा मिसेलले पठाएका अश्लिल फोटो, भिडियो लगायत म्यासेजहरु आफूसँग सुरक्षित रहेको बताए । हामीले यो व्यक्तिगत मामिला र कानुनी रुपमा मुद्दा चल्ने समय गुज्रिएको भनेर समाचार बनाएनौं ।

काठमाडौं पोस्टको स्टोरीमा मिसेलको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, प्रशासन लगायतले केही नभेटेको भन्ने कुरा छ । अख्तियारमा उजुरी परे पनि यो केस छानबिन गर्न पाउने अधिकार अख्तियारसँग छैन भन्ने कुरा काठमाडौं पोस्टका खोज पत्रकारलाई थाहा रहेनछ ।

अनि ‘प्रहरीले गरेको छानबिनमा केही भेटिएन’ भन्ने कुरा यहाँ लोकल मान्छेलाई ठगी गरेको छ कि छैन भनेर मात्र छानबिन गरेको थियो । तर हामीले उठाएको विषय चाहिँ उनले विश्वभरबाट नेपालीका नाममा नेपालीको फोटो राखेर, यहाँका दुख बेचेर पैसा कसरी ल्याइन् ? यो ल्याउन पाउने हो कि होइन ? ल्याएको पैसा कहाँ छ ? कहाँ खर्च गरिन् ? र आम्दानी खर्च विवरण कहाँ बुझाइन् ? भन्ने हो ।

नेपालकै सर्वाधिक बिक्री हुने दाबी गर्ने काठमाडौं पोस्टले ताण्डव न्युजमा प्रकाशित सरकारी अधिकारीका भनाइ पनि गलत भएको दाबी गरेको छ । हामी तपाईहरुलाई यो जानकारी गराउँछौं कि ती सबै भनाइ र कुराकानीका रेकर्ड हामीसँग सुरक्षित छन् । हामी कसैको भनाइलाई मात्र विश्वास गर्दैनौं । फिल्डमा खटिन्छौं । कानुनमा के छ ? फिल्डमा के भइरहेको छ ? जाँच्छौं । खोजी पत्रकारितामा हामी तपाईंहरुले जस्तो कसैको ‘फेवर’मा लाग्दैनौं ।

मिसेलबारे ताण्डवमा प्रकाशित समाचारहरु

‘गैरकानुनी’ काम गर्ने मिसेललाई अमेरिका फर्कन अध्यागमनको निर्देशन

अमेरिकन नागरिक मिसेल बिरुद्ध पोखरामा उजुरी 

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’
‘मिसेल काण्ड’ अख्तियारमा फाइल
कानुन बर्खिलाप अमेरिकी मिसेलको ‘कमाउने मिसन’ !
लर्निङ हाउसको प्रतिक्रिया, हाम्रो प्रमाणसहितको समाचार
मिसेल काण्डःसम्भावित ‘इन्भेस्टिगेसन स्ट्राटेजी’
‘कमाउ धन्दा’ ढाकछोप गर्न ग्रुप गुहार्दै मिसेल

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.