www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको म्याग्देमा प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन

तनहुँ।

तनहुँको म्याग्दे गाउँपालिकाले प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले सबै वडाका टोलहरुमा आजदेखि ज्वरो क्लिनिक सञ्चालन गरेको हो ।

सातवटै वडाका अध्यक्ष, टोल विकास संस्थाका पदाधिकारीसँग आवश्यक समन्वय गरी ज्वरो क्लिनिक सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । ज्वरो क्लिनिक सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई टोल–टोलमा खटाइएको छ ।

Batas

‘कोभिड–१९ को लक्षणसँग मिल्ने ज्वरो, रुघाखोकी, शरीर दुख्नेलगायतका बिरामीको पहिचानका लागि ८२ वटै टोलमा ज्वरो क्लिनिक सञ्चालन गरिने र सर्वसाधारणको तथ्यांक संकलन गर्नेछौँ’, प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने ।

यस अगाडि गाउँपालिकाले विदेशबाट फर्किएका नागरिकको विवरण संकलनका लागि टोल विकास समितिलाई परिचालन गरेको थियो । टोल विकासमार्फत कोभिड–१९ का शंकास्पद व्यक्तिको तथ्यांक लिने, संक्रमणको जोखिम, लक्षण र आवश्यकता पहिचान गर्ने काम गरेको थियो । गाउँपालिकामा चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ४३ जना रहेको छ ।

‘गाउँपालिकावासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई टोल–टोलमा पठाएर सबैको ज्वरो नाप्न शुरु गरेका छौँ’, गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले भने, ‘यसले कोभिड–१९ रोकथामका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।’ रानाका अनुसार विभिन्न देशबाट गाउँपालिकामा आएका व्यक्तिको विवरण लिई उनीहरूको स्वास्थ अवस्थाको निगरानी भइरहेको छ ।

ज्वरो क्लिनिकमा स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य परीक्षण गराउनका लागि सम्पूर्ण नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षलाई समन्वयका लागि अनुरोध गरिएको छ । यस्तै गाउँपालिकाले पहिलो चरणमा एक हजार ५६० परिवारलाई राहत वितरण गरेको जनाएको छ ।

स्वास्थ्य सहायता कक्षमा ३ हजार १६३ को परीक्षण

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि तनहुँ जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षबाट तीन हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । तनहुँ जिल्ला प्रवेश गर्ने मुख्य नाका तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको कक्षबाट तीन हजार १६३ जनाको परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार उक्त कक्षबाट ७६२ महिला र दुई हजार ४०२ पुरुषको परीक्षण गरिएको छ । कार्यालयका प्रमुख शंकरबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा राखिएको स्वास्थ्य सहायता कक्षमा एक हजार ९०८, भानु नगरपालिका–३ फुस्रेटार, कालीमाटी, भन्सारमा १२२, म्याग्दे गाउँपालिकाको कार्यालयमा २६३, भीमादमा ७९१, ऋषिङका विभिन्न ठाउँमा २७, देवघाटमा ५२ जनाको परीक्षण गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.