www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ : काेराेना भाइरस जितेर घर फर्किइन् ‘अंशु’

बागलुङ ।

कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी हुन् ।

लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए । “उहाँको स्वास्थ्य अवस्था राम्रो छ, दुई हप्ता घरमा पनि अलग्गिएर बस्न लगाएका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भने ।

Batas

अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताइन् । “म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो ।”

सापकोटाका बुबा ऋषिरामले छोरीमा सङ्क्रमण भएको थाहा पाउँदा पीडा भए पनि निको भएर फर्कदाँ सिङ्गो परिवारमा खुशी छाएको बताए । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएकी हुन् ।

उनीसँगै एउटै विमानमा बेल्जियमबाट आएकी सोही नगरपालिका–३ की सङ्क्रमित ६५ वर्षीया मनकुमारी पौडेल निको भएर अघिल्लो शनिबार नै घर फर्किसकेकि छन् । पौडेलमा गत चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । सापकोटा नेपालको पाँचौँ र बागलुङको पहिलो सङ्क्रमित हुन् भने पौडेल नेपालको छैटौँ र बागलुङको दोस्रो सङ्क्रमित हुन् । दुवै सङ्क्रमित निको भएपछि हाललाई बागलुङ कोरोनाका बिरामीमुक्त जिल्ला भएको छ । (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.