www.tandavnews.com
Fact ~ In search of truth

चितवनः छोरा कोरोना भाइरस मुक्त, आमाको पिसीआर परीक्षण पोजेटिभ

चितवन ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् ।

उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा .श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज र बिदाइ गरिने कार्यक्रम छ ।

आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिए । उनले भने, ‘उनलाई हामी आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज गरेर क्वारेन्टाइनमा बस्न लगाउँछौँ ।’ कम्तीमा उनी एक साता क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।

Lama collectio News Middle

तिवारीका अनुसार राप्ती नगरपालिका–८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भाइरस देखिएको थियो । शुरुमा आमामा र्यापिड डायग्नोष्टिक टेष्टमा शंकास्पद देखिएपछि आमा र दुई छोराको पिसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।

परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो । हाल अस्पतालमा रहेका आमा छोरामा रोगको लक्षण नदेखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार तीन दिनपछि पुनः आमाको स्वाब परीक्षण गरिने छ । शरीरबाट भाइरसमुक्त भए पनि केही समयसम्म एन्टीबडी रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तीमा एक साता क्वारेन्टाइनमा राख्नुपर्ने चिकित्सकको भनाइ छ ।

चैत ३ गते बेलायतबाट यी आमा छोरा हङकङ हुँदै नेपाल आएका हुन् । दुई दिन काठमाडौँ बसेर उनीहरु घर आएका थिए । परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रह्मनगरको क्वारेन्टाइनमा राखिएको छ । र्यापिड डायग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा .भोजराज अधिकारीले जानकारी दिए ।

जिल्लामा कोरोना रोगको उपचारका लागि भरतपुर अस्पताल र भरतपुर महानगरपालिकाले स्थापना गरी भरतपुर अस्पतालले नै सञ्चालन गरेको भरतपुर कोरोना विशेष (अस्थायी)अस्पताललाई तोकिएको छ । अधिकारीका अनुसार भरतपुर अस्पतालमा रहेका संक्रमितलाई उच्च सावधानीका साथ राखिएकाले अन्य सेवा सञ्चालन भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery