www.tandavnews.com
Fact ~ In search of truth

बन्दाबन्दीले कृत्रिम गर्भाधानमा समस्या

पोखरा।

पोखरा महानगरपालिका वडा नं ३३ स्थित भण्डारी क्याटल फार्ममा ६८ वटा गाई रहेका छन् । तीमध्ये करिब ३० वटा गाईको कृत्रिम गर्भाधान गर्ने बेला भएको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहेपछि ती गाईका गर्भाधान गराउन नपाउँदा फार्मका सञ्चालक शोभाखर भण्डारी चिन्तित हुनुहुन्छ । ‘साँढे बहर पाईदैन । कृषकले बहर पाल्न छाडे । कृत्रिम गर्भाधानको विकल्प छैन ।’ उनले भने

Batas

‘साँढे बहर पनि पाल्न छोडियो । कोरोना भाइरसको महामारीबाट जोगिन गरिएको बन्दाबन्दीका कारण गाईलाई कृत्रिम गर्भाधान गराउन पनि सकिएको छैन’, सञ्चालक भण्डारीले भने ।

कृत्रिम गर्भाधान नहुँदा यतिखेर गाईपालक कृषक मारमा परिरहेको उल्लेख गर्दै उनले यसतर्फ सरकारको चासो जानुपर्ने बताए । यस अवस्थामा राज्यले कृत्रिम गर्भाधानको व्यवस्था वा साँढे बहरको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाभित्र गाईभैँसीको कृत्रिम गर्भाधान गराउने पशु चिकित्सकको संख्या ३३ रहेको महानरपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।बन्दाबन्दीसँगै भएको नाइट्रोजनको अभाव, पशु चिकित्सकको व्यक्तिगत स्वास्थ्य सुरक्षालगायतका कारण हाल कृत्रिम गर्भाधानको काम हुन नसकेको उनले बताए ।

‘पशु स्वास्थ्य सेवालाई सरकारले आकस्मिक सेवामा नराख्दा पनि समस्या भएको छ’, उनले भने, ‘आकस्मिक सेवामा नपरेकै कारण पशु चिकित्सक आवतजावत गर्न अनुमति पनि पाएका छैनन् ।’

पशुको उपचारमा खटिने चिकित्सकका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध नहुनुलगायतका कारण पनि समस्या परेको उनको भनाइ छ ।चिकित्सक अधिकारीका अनुसार अघिल्ला वर्ष पोखरा महानगरपालिकाभित्र १७ हजार २१३ गाई तथा भैँसीको कृत्रिम गर्भाधान गरिएको थियो ।

भण्डारी क्याटल फार्मबाट दैनिक २०० लिटर दूध उत्पादन हने गरेको सञ्चालक भण्डारीले जानकारी दिए । दूधको बजारीकरणमा खासै समस्या नरहेको बताउँदै उनले फार्ममा नै आएर लैजानेका लागि थोक मूल्य प्रतिलिटर ६५ र खुद्रा मूल्य प्रतिलिटर ८० लिने गरेको जानकारी दिए ।

फार्मले बजारमा पुर्याउने दूधका लागि थोक मूल्य ७५ र खुद्रा मूल्य ८५ निर्धारण गरेको छ ।व्यवसाय गर्नेदेखि सामान्य दूधभात खान्छु भन्नेका लागिसमेत फार्मले दूध उपलब्ध गराएको जानकारी गराउँदै भण्डारीले न्यूनतम रु १० देखि रु १० हजारसम्मको दूध बिक्री गरिरहेको उल्लेख गरे ।

‘हाम्रो फार्ममा सामान्य दूधभात खान्छु भन्नेले न्यूनतम १०० ग्राम मात्रै पनि १० तिरेर किन्न सक्ने व्यवस्था छ’, उनले थपे, ‘सामान्य दूधभात खान्छु भन्नेदेखि व्यवसाय गर्नेसम्म सबैलाई सेवा दिने हाम्रो लक्ष्य हो ।’

गाईपालन व्यवसाय चुनौतीपूर्ण भए पनि यसतर्फ सरकारको खासै चासो पुग्न नसकेको भण्डारीको गुनासो छ । गाईका बाच्छा हुन् वा ब्याउन नसकेका थारा गाई यिनीहरूको व्यवस्थापन सम्बन्धमा सरकारले उचित निर्णय लिन नसक्दा पनि कृषक मारमा परिरहेको उनको भनाइ छ ।

कृषकले गरेको उत्पादनको उचित मूल्यका साथै सहज बजारीकरणमा राज्यले सहयोग गर्नुपर्ने फार्मका अर्का सञ्चालक सदस्य ढाकाराम भण्डारी बताउछन् । जारी लकडाउनका कारण कृषकमा परेको समस्यालाई दृष्टिगत गरी उचित राहत तथा सहयोगका कार्यक्रम ल्याउन उनले माग गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.