www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाविरुद्ध तीन तहका सरकारबीच समन्वय आवश्यक

पोखरा ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने निष्कर्ष निकालेको छ ।

समितिले गण्डकी प्रदेशको बजार अनुगमन टोली एवं सरोकारवालासँग आइतबार गरेको छलफलमा समितिका सभापति दीपक कोइरालाले यसको रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारबीच अझै बढी समन्वय आवश्यक देखिएको बताए ।

Batas

उनले बजार अनुगमन टोलीसँग प्रदेशको बजारको अवस्था, मूल्यवृद्धि लगायतमा भइरहेका प्रयास लगायतमा जानकारीसमेत लिए । अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा वर्तमानमा कुनै पनि सामग्रीको अभाव नरहेको जानकारी गराए ।

सभापति कोइरालाले बन्दाबन्दीको अवधिमा कास्की, स्याङ्जा, पर्वत तनहुँलगायत जिल्लाका १०० भन्दा बढी ठाउँमा अनुगमन गरिएको उल्लेख गर्दै उनले आपूर्तिलाई सहज बनाउनेतर्फ जोड दिइएको बताए ।

अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मूल्यवृद्धि गरेर पठाएकाले आटा, खाने तेल, रातो दालमा केही मूल्य बढेको पाइए पनि अन्य सामानको अभाव नदेखिएको बताए । उनले औषधिको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ग्यास र खाद्यान्नमा अभाव नरहेको बताउँदै यसबीचमा कालोबजारी गर्ने तीन जनालाई मुद्दा चलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लीलाबल्लव न्यौपानेले तीन तहको सरकारबीच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताउँदै तीन तहकै एउटै निर्णय भए काम गर्न सहज हुने उल्लेख गरे ।

समितिमा बजारमा चोक्करको मूल्य बढी लिएको, मिति सकिएको एलपी ग्यासको सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.