www.tandavnews.com
Fact ~ In search of truth

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु

काठमाडौं ।

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ शुरु गरेको हो ।

सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठकले आजदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ शुरु गर्ने निर्णय गरेको थियो ।

Batas

विपद्मा सामाजिक दूरी कायम गरी सुरक्षाप्रति सावधानी अपनाउनुपर्ने भएकाले रिट निवेदन दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानून व्यवसायी तथा कर्मचारीसमेत आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन अदालत प्रशासनले मिलाउने तयारी गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भइरसको सम्भावित सङ्क्रमणबाट जोगिन सर्वोच्च अदालतको गत चैत ७ गते बसेको पूर्ण बैठकले अतिआवश्यक निवदेन बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

गत चैत १८ गतेको पूर्ण बैठकले केही आंशिक काममा वृद्धि गरेको थियो । आजदेखि भने रिट निवेदन दर्ता र सुनुवाइसमेत शुरु गरेको छ । नेपाल बार एशोसिएशनले सोमबार आकस्मिक बैठक बसेर प्रेस विज्ञप्ति जारी गरी कानून व्यवसायी र सेवाग्राहीलाई आवागमनमा कठिनाइ हुने भन्दै सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयको विरोध गरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.