www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर कोरोना अस्पतालकाे अनियमितताबारे समाचार लेख्ने पत्रकारलाइ धम्की, महासङ्घको ध्यानाकर्षण

चितवन ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले समाचारका विषयलाई लिएर पत्रकारमाथि धम्की दिइएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज जारी गरेको विज्ञप्तिमा अनलाइन खबर डटकमका समाचारदाता सुवास पण्डितलाई समाचार लेखेकै कारण धम्की दिइएको जनाइएको छ ।

चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री शङ्कास्पदरूपमा बाहिरिएको र अस्पतालको खर्च प्रक्रियामा अनियमित भएको समाचार प्रकाशित भएपछि पण्डितलाई धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी सङ्घ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनले विज्ञप्ति जारी गरी समाचार लेख्ने व्यक्तिको पहिचान गरी आफैँले आवश्यक कारवाही गर्ने चेतावनीसहितको धम्की दिइएको जनाइएको छ ।

Batas

शाखा अध्यक्ष राधेश्याम खतिवडाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा धम्की दिने व्यक्तिको पहिचान गरी कानूनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले जारी गरेको विज्ञप्तिमा पत्रकार पण्डितमाथि धम्की दिने संस्थाका जिम्मेवार व्यक्तिमाथि कारवाहीको माग गरिएको छ ।

(रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.