www.tandavnews.com
Fact ~ In search of truth

सँगै ‘सुलेसन’ तानेपछिको विवादले साथीको हत्या

सप्तरी ।

सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा आज सप्तरीमा तीनजना पक्राउ परेका छन् ।

साथीको हत्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

Batas

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार उनीहरूमाथि फागुन ३० गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई हत्या गरेको अभियोग लागेको छ । मृतकका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा दिएको उजुरी आज दर्ता गरिएको छ ।

प्रहरीका अनुसार सँगै नशा सेवन गरेका साथीहरूले सामान्य विवादमा स्वर्णकारलाई कुटपिट गरी हत्या गरेका हुन् । पक्राउ परेका आरोपितले प्रहरीसँगको प्रारम्भिक बयानमा चारजना सँगै बसेर सोनपिच नामक सुलेसन पिएको र चोरी गर्न जाने क्रममा विवाद भएपछि तीनजना मिलेर कुटपिट गर्दा मृत्यु भएपछि बोरामा हालेर झाडीमा मिल्काएको बताएका छन् ।

कुटपिट गरेर हत्या गरिएको अवस्थामा सुरजको शव वैशाख १ गते भारदहस्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्न धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको थियो । गाउँको चौबाटोमा पुगेर कुकुरले ट्र्याक छाडेपछि प्रहरीले मृतकका मिल्ने नजिकका साथीहरूमा निगरानी बढाएको थियो ।

कुटपिट गर्दा चारैजना नशाले बेहोसी अवस्थामा रहेको पक्राउ परेका आरोपीले बताए । “सबैजना बेहोसी हालतमा रहेकाले नै कुटपिटमा सुरजको मृत्यु भयो”, उनीहरूको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले भने , “आरोपितहरूलाई आज अदालतबाट १५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।”

हत्यामा प्रयोग भएको धारिलो चक्कु, बोरा, डोरी, ताला फुटाउने कटर फेला परिसकेको छ । यसअघि कुनै मनमुटाव नभएको र सुरजका साथीहरूले समेत बेहोसी अवस्थामा घटना भएको प्रारम्भिक बयान दिएकाले लागुऔषधको नशा घटनाको मुख्य कारण भएको प्रनाउ मिश्रले बताए ।

(रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.