www.tandavnews.com
Fact ~ In search of truth

गर्न मिल्ने र सकिने कामलाई निरन्तरता दिइने:गण्डकी प्रदेश

पोखरा ।

गण्डकी प्रदेश, अर्थ तथा विकास समितिले विभिन्न चार मन्त्रालयका सचिवसँग जारी बन्दाबन्दीले पारेको प्रभाव र भइरहेका कामका विषयमा छलफल गरेको छ ।

समितिले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास , उद्योग पर्यटन वन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवसँग बिहीबार छलफल गरेको हो ।

Batas

मुख्यरूपमा बजेट कार्यान्वयन हुने समयमा कोरोनाका कारण बन्दाबन्दी गर्नुपरेको अवस्थालाई दृष्टिगत गरी मन्त्रालयगत परेका असर एवं गर्न सकिने काम कारवाहीलगायतमा छलफलका लागि सचिवलाई बोलाएको समितिका सभापति दीपक कोइरालाले जानकारी दिए ।

बन्दाबन्दीमा गर्न सकिने काम यसको बहनामा रोकिन नहुने बताउँदै उनले गर्न मिल्ने र सकिने कामलाई निरन्तरता दिन सचिवहरूलाई निर्देशन दिए । आगामी बजेट स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर ल्याउन पनि समितिले सुझाव दिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रामेश्वर दङ्गालले परिणाम आउने गरी काम गर्नुपर्ने बताउँदै वर्तमानमा संघीय सरकारबाट आएको बजेट कार्यान्वयनमा जोड दिँदै प्रदेशको अत्यावश्यक योजनाको कामलाई निरन्तरता दिइने बताए ।

भैतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वर मरहठ्ठाले फागुन मसान्तसम्म मन्त्रालयले चालू र पूँजीगत गरी ३४ प्रतिशत खर्च भएको जानकारी दिए । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले फागुन मसान्तसम्म आफ्नो मन्त्रालयको ३३ प्रतिशत रकम खर्च भएको जानकारी दिए । अत्यावश्यक योजनाबाहेक अन्य योजना रोक्का भएकाले बजेट कार्यान्वयन ६० देखि ७० प्रतिशतमात्रै हुने देखिएको उनले बताए ।

छलफलमा बोल्दै समितिका सदस्य इन्द्रलाल सापकोटाले प्रमुख जिल्ला अधिकारीले कुनै जिल्लामा निर्माण सामग्री ढुवानीमा पास दिने त कतै नदिने गरेकाले विकासका काम सबै जिल्लामा एकरुपताको साथ हुन नसकेको बताए ।

अर्का सदस्य भागवतप्रकाश मल्लले चालू आर्थिक वर्षमा प्रदेशबाट योजना परेर पनि अहिले काम हुन नसकेका योजनालाई समेत आगामी बजेटमा निरन्तरता दिनुपर्ने बताए। समितिका सदस्य सरिता गुरुङ, डोबाटे विश्वकर्मा, मीनप्रसाद गुरुङ, चन्द्रमोहन गौचनलगायतले बन्दाबन्दीलाई बाहना बनाएर गर्न सकिने काम पनि नगर्ने सोच तथा प्रवृत्ति बढ्न सक्ने प्रति सचेत बन्नुपर्ने आवश्यकता औँल्याए ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.