www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा लकडाउनमा पनि विकास निर्माणका काम

तनहुँ ।

तनहुँका विभिन्न स्थानीय तहमा बन्दाबन्दी भएसँगै रोकिएका विकास निर्माणका काम शुरु गरिने भएको छ । स्थानीय तहहरुले बन्दाबन्दीको अवधिमा पनि विकास निर्माणका काम शुरु गर्ने अनुमति दिएपछि यसअगाडि नै सम्झौता भएका भौतिक निर्माणका काम शुरु गर्न लागिएको हो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बन्दाबन्दीको समयमा पनि भौतिक निर्माणको काम गर्न दिने भएको छ । बन्दाबन्दी अगाडि ल्याइएका निर्माण सामग्री फाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै पाँच जनासम्म मजदुर खटाएर काम गर्न दिने निर्णय भएको नगरप्रमुख किसान गुरुङले जानकारी दिए।

Batas

नगरप्रमुख गुरुङका अनुसार सामाजिक दूरी कायम गर्दै सावधानी अपनाएर विकास निर्माणका काम गर्नका लागि अनुमति दिइएको छ ।‘मौज्दात रहेका निर्माणका सामग्री बिग्रिने अवस्था आउन सक्ने भएकाले सावधानी अपनाएर विकास निर्माणको कामलाई अगाडि बढाउन सकिने निर्णय गरिएको छ’, उनले भने ।

उनका अनुसार विकास निर्माणका कामका लागि ल्याइएका सामग्री मौज्दात नभएमा भने काम गर्न रोक लगाइएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि लकडाउन भएसँगै करिब चार हप्तादेखि विकासका योजनासँगै भौतिक संरचना निर्माणको काम ठप्प छ । मौज्दात रहेको सिमेन्टलगायत निर्माण सामग्रीको हिनामिना हुनसक्ने भएकाले स्थानीय मजदुर प्रयोग गरेर काम गर्न बाटो खुला गरिएको गुरुङले जानकारी दिए।

त्यसैगरी जिल्लाको व्यास नगरपालिकाले पनि निर्माणको काम गर्नका लागि बाटो खुला गरेको छ । तनहुँमा नै उपलब्ध निर्माण सामग्री र स्थानीय कामदारको प्रयोग गरी सम्झौता भइसकेका सार्वजनिक निर्माणकार्यलाई अगाडि बढाउन अनुमति दिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

यस्तै बन्दीपुर गाउँपालिकाले पनि निर्माण प्रक्रियामा रहेका विभिन्न आयोजनाका कामलाई सामाजिक दूरी कायम गर्दै अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार सामाजिक दूरी कायम गरी स्थानीय मजदुर प्रयोग गरी काम गर्न सकिनेछ ।

बन्दाबन्दीकै क्रममा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम सञ्चालन भइसकेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका लागि हाल केवल टनेल खन्ने कामलाई निरन्तरता दिइएको छ ।

आयोजनाका साइट प्रमुख अच्युत घिमिरेका अनुसार क्याम्पभित्रै बसिरहेका मजदुरलाई परिचालन गरेर काम सञ्चालन गरिएको छ । हाल क्याम्पमा २४ चिनियाँ तथा अन्य गरी करिब ५० श्रमिक र प्राविधिक छन् । विद्युत् गृहमा तार लैजानका लागि १८७ मिटर सुरुङ खनिनेछ । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.