
काठमाडौं ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको उल्लेख गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री डा .खतिवडाले सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने तथा यसको उपयोगकर्ता सबैलाई बधाई दिएका छन् ।
सूचना तथा सञ्चार प्रविधिको उपयोग विश्वसनीय, सुरक्षित र पहुँचयोग्य तुल्याउ न सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको स्पष्ट पार्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले यस क्षेत्रमा रहेका नीतिगत झन्झट र कानूनी समस्या समाधान गर्न तथा पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग रोक्नका लागि नयाँ ऐन तथा कानूनसमेत निर्माण भइरहेको बताएका छन् ।

सुशासनको मेरुदण्डका रुपमा रहेको पारदर्शितालाई पूर्णरुपमा कार्यान्वयन गर्न तथा भ्रष्टाचारमुक्त र चुस्त प्रशासनमार्फत छिटो छरितो एवं लागत प्रभावी सेवा प्रवाह गर्नका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग प्रभावकारी माध्यमका रुपमा स्थापित भएको उल्लेख गरेका छन् ।

सरकारले सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ मा उल्लिखित सूचना प्रविधिमार्फत देशभर सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि डिजिटल नेपाल फ्रेमवर्क पाँच वर्षभित्र पूर्णरुपमा कार्यान्वयनमा ल्याउने गरी सक्रियताका साथ कार्यक्रम लागू गरेको जानकारी दिएका छन् ।
मन्त्री खतिवडाले सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न सरकारले कानूनको निर्माण एवं संशोधन गरिरहेको उल्लेख गर्दै विश्वमा सञ्चार तथा सूचना प्रविधिको विकास द्रुततर गतिमा भइरहेको र नेपाल पनि सोही गतिमा अगाडि बढ्नका लागि सरकारले यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ता एवं कम्पनीसँग सहकार्य र सहयोगको अपेक्षा गरेको जनाएका छन् ।
विश्वव्यापीरुपमा चुनौतीका रुपमा देखिएको कोरोना भाइरसको महामारीबाट हामी सबैको जीवन सुरक्षित राख्न, यो रोगबारे सचेतना जगाउने, सूचना र जानकारी दिने तथा सतर्कता अपनाउनुपर्ने विषयसमेत सम्प्रेषण गरी जीवन रक्षाका लागि कार्य गर्न सफल भएको तथ्य पनि मन्त्री खतिवडाले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस अवसरमा म स्वदेशी तथा विदेशी लगानीकर्ता एवं सम्बन्धित कम्पनीलाई यस प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न तथा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न हार्दिक अपिल गर्दछु ।’ रासस
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।