www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा शहरबाट घर फर्केका युवाले बनाए सडक

म्याग्दी ।

कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीकापछि शहरबाट आएका युवाहरुले श्रमदान गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सडक निर्माण गरेका छन् ।

भगवतीको पखटोलमा काठमाडौँ, पोखरा र बेनीलगायतका शहरबाट आएका युवाहरुले श्रमदान गरेर एक किलोमिटर सडक खनेका हुन् । बाक्लो बस्तीभित्र सवारी साधनमार्फत आवातजावत गर्न मिल्ने सडक बनाउन श्रमदान गरेका स्थानीय निर्मल केसीले बताए ।

Batas

स्थानीयवासी अर्जुन खत्रीको संयोजनमा दैनिक १० युवाले घरायसी र खेतबारीको कामबाट बचेको समयमा सडकमा श्रमदान गरेका थिए । सडकबाट ५० घरधुरी लाभान्वित हुने जनाइएको छ ।सो वडाका वडाध्यक्ष रिमबहादुर कटुवालले युवाहरुलाई विकासका काममा परिचालन गर्दा उनीहरुको विकास योजनाप्रति अपनत्व हुने र विकृतिबाट टाढा राख्न सहयोग पुग्ने बताए ।

म्याग्दीको अन्य ठाउँमा पनि लकडाउनपछि गाउँमा पुगेका युवाहरुले स्थानीय तहले बजेट विनियोजन गरेका सडक, खानेपानी, भवनलगायत विकास निर्माणको कामको नेतृत्व गरेका छन् ।

बेनीमा बस्दै आएका बेनी–१० पात्लेखेतका धनबहादुर रोकाले लकडाउनपछि गाउँ गएको समयमा उपभोक्ता समितिको नेतृत्व गरेर नेपानेबाट धैरेनीटोल जोड्ने सडक निर्माण गरेका छन् । ‘डोजर र स्थानीय जनशक्ति परिचालन गरेर सडक खनेका हौँ’, उनले भने, ‘लकडाउनका बीच गाउँमा सडक पु¥याउँदा खुशी भएका छौँ ।’

नेपानेबाट धैरेनीटोल जोड्ने सडक दुई किलोमिटर छ । २२ घरधुरी लाभान्वित भएका छन् । माइक्रोबस, जिप, ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन चलाउन सकिने भएको छ । सडक पाँच मिटर फराकिलो छ । बेनी नगरपालिकाले रु चार लाख विनियोजन गरेको सडक निर्माणमा उपभोक्ताले एक लाख बराबरको श्रमदान गरेका थिए ।

लकडाउनकै बीच अन्नपूर्ण गाउपालिका–५ शिखको तल्लो गाउँबाट घिर्वाङ जोड्ने २.५ किलोमिटर सडक निर्माण भएको छ । स्थानीयस्तरमा उपलब्ध उपकरण (डोजर र मजदुर) परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले जानकारी दिए ।१५ लाख ७१ हजार ८७० को लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अन्नपूर्ण गाउपालिकाले आठ लाख २५ हजार विनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगदसमेत परिचालन भएको वडाध्यक्ष दिनेश तिलीजाले बताए ।

सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १३० घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका छ । आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानी तथा आलु, तरकारीलगायत कृषि उपज निकासीमा सहज भएको छ ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.