www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा पुलका काम शुरु

पोखरा ।

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा पोखरा महानगरपालिकाले विकास निर्माणका काम पुनः शुरु भएको छ । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो महानगरमा केही सडक र पुलका काम सामाजिक दूरी कायम गर्दै शुरु भएको महानगरले जनाएको छ । अधिकांश पूर्वाधारका काम भने ठप्प छन् ।

विगतका वर्षमा अत्यधिक विकासका काम हुने चैतदेखि असारसम्म यस वर्ष कोरोनाका कारणले काम रोकिएपछि धेरैजसो योजना प्रभावित हुने देखिएको छ । गण्डकी प्रदेश सरकारले बन्दाबन्दीमा समेत विकास निर्माण, उद्योग व्यवसाय तथा कृषि व्यवसाय सञ्चालन मापदण्ड तयार गरेपछि स्थानीय सरकारले सोही मापदण्डको पालना गर्दै सम्भावित सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सुरक्षाका उपाय अवलम्बन गरी पूर्वाधार निर्माण गरेका हुन् ।

Batas

महानगरमा पुलका काम शुरु भएका छन् । चालू वर्षमा सात मोटरेबल पुल निर्माण सम्झौता भएकामा अधिकांशमा काम शुरु भएको छ । महानगरले ग्रामीण वडालाई मुख्य शहरसँग जोड्नका लागि ‘कनेक्टिङ सडक’ र पुल निर्माणलाई चालू आर्थिक वर्षमा प्राथमिकतामा राखेको थियो ।

‘विकटलाई निकट’ ल्याउने योजनाअनुसार गत आर्थिक वर्षबाट कनेक्टिङ रोडको अवधारणा ल्याएर कार्यान्वयन शुरु गरिएको थियो । वडा नं १६ मा निर्माणाधीन घोरकुना मोटरेबल पुल, वडा नं १९ को भोटीखोला मोटरेबल पुल, वडा नं २ स्थित भलामको सानीखोला पुल, वडा नं २७ मा बगादीखोला पुल र वडा नं २८ स्थित स्याङ्खुदी पुलको काम शुरु भएको महानगरका इञ्जीनियर राजु रेग्मीले जानकारी दिए।

भोटीखोला पुल निर्माणका लागि गत वर्ष भदौमा सम्झौता भएको थियो । दुई करोड ३८ लाख ५५ हजार लागतमा आगामी मंसिर २ गतेभित्रमा पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । घोरकुना मोटरेबल पुलको बन्दाबन्दीकै अवधिमा समेत ढलान गरिएको थियो । तीन करोड ३० लाख लागत रहेको पुलको काम जारी रहेको छ ।

आगामी माघ ३ गतेभित्रमा सम्पन्न गर्ने गरी सानीखोला पुलको निर्माण शुरु गरिएको थियो । सो पुलको लागत तीन करोड दुई लाख ७५ हजार छ । पोखरा–२८ को स्याङखुदी पुलको काम आवश्यक सुरक्षाका उपायहरु अवलम्बन गरी काम भइरहेको छ । यस पुलको लागत दुई करोड ७५ लाख छ भने आगामी पुस पहिलो हप्तामा सम्पन्न गर्नुपर्ने छ ।

बगादीखोल पुलको लागत तीन करोड तीन लाख रहेको छ भने आगामी माघ पहिलो हप्तामा निर्माण सम्पन्न गर्नुपर्ने छ । महानगरले चालू वर्षमा सात सडक पुल र सिर्जना चोक आकाशे पुलको सम्झौता गरेकामा अन्य पुलका योजनाको काम ठप्प छ ।

कनेक्टिङ सडकका १३ योजनामध्ये दुईवटामा बाहेक अन्यमा काम शुरु नभएको र अन्य सडकका निर्माण व्यवसायीले अनुमति माग गरेकाले केही दिनमा शुरु हुने इञ्जीनियर रेग्मीले जानकारी दिए ।

कनेक्टिङ सडक महेन्द्र गुफा अर्मलाकोट र खत्री पहरो सौर्य सडकको काम शुरु भएको उनले जानकारी दिए । वडा कार्यालय भवन निर्माण योजनाअन्तर्गत वडा नं १९ र वडा नं २ कार्यालय भवन निर्माणको काम जारी बन्दाबन्दीमा समेत शुरु भएको महानगरले जनाएको छ । महानगरमा हाल कालोपत्रको सबै काम ठप्प रहेको बताइन्छ । कालोपत्रको काम गर्ने सबै मजदुर बन्दाबन्दीका बीचमा घर फर्किएपछि मजदुर अभाव भएको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले सम्झौता भएका योजना शुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको र केही शुरु भएको बताए । स्थानीय मजदुर नहुनु र बाहिरी जिल्लाका कामदारमा भर पर्नुपर्ने बाध्यताका कारणले काम प्रभावित बनेको उनको भनाइ छ । ‘सबै काम सम्पन्न भएर कालोपत्रको तयारीमा रहेका केही सडकको कामसमेत रोकिएको छ । विकास आयोजना शुरु गर्ने भनेका छौँ, तर काम गर्ने मान्छे छैनन् । हाललाई कति सकिन्छ काम शुरु गरौँ भनेर लागि परेका छौँ’, प्रमुख जिसीले भने।

जिल्ला प्रशासन कार्यालयले समेत विकास निर्माण र उद्योग व्यवसाय सञ्चालनका लागि जारी लकडाउनलाई केही खुकुलो पारेको छ । जिल्लामा विकास निर्माण, उद्योग तथा उत्पादनशील क्षेत्रमा कार्यरत व्यक्तिलाई आजदेखि प्रशासनबाट सवारी पाससमेत लिन नपर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कुनै विकास निर्माण तथा उत्पादनमूलक सेवा सञ्चालनमा आवतजावत गर्दा अधिकतम १० जनासम्म एकपटकमा यात्रा गर्न प्रशासनले निर्देशन जारी गरेको छ । वर्कसप, इन्टरनेट जडान, प्लम्बिङ, इलेक्ट्रिकल सेवा र पेट्रोलपम्प सञ्चालनमा बढीमा पाँच जना कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाउन भनिएको छ ।

कोरोना भाइरसबाट सचेत र सजग हुँदै सामाजिक दूरी कामय गर्दै विकास निर्माण तथा सेवा सञ्चालन गर्न केही सहज पार्ने र शैक्षिक संघसंस्था, रङ्गशाला, जिमहल, फिल्महल, धार्मिक तथा सार्वजनिकस्थलमा मानिसहरुको जमघटलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.