www.tandavnews.com
Fact ~ In search of truth

दशगजामा एक सय नेपाली अलपत्र

नवलपरासी ।

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली तीनचार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका हुन् ।

दशगजा आसपास क्षेत्रमा रहेका नेपालीलाई नेपालतर्फ उद्धार गर्न जिल्ला प्रशासन कार्यालयमार्फत माथिल्लो निकायमा आवश्यक समन्वय भइरहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति भरत खनियाले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा आइपुगेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको छ । नेपालीलाई केही स्थानीय तह र सीमा पारि भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेका छन् ।

यसबारे आफूले गृह मन्त्रालयमा जानकारी गराइसकेको र निर्देशन आएपछि मात्र समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा राति खेतको बाटो हुँदै लुकीछिपी नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन् ।

सीमामा लुकिछिपी प्रवेश

राजापुर– नेपाल–भारत सीमा बन्द गरिए पनि बर्दियामा नेपाल–भारत सीमानाकामा लुकिछिपी नेपाल प्रवेशक्रम रोकिएको छैन । बर्दियाको राजापुर नगरपालिकामा ११ वर्षीया बालिकालाई कोरोना पोजेटिभ पुष्टि भएकै दिन मानिसहरु भारतबाट लुकिछिपी बर्दिया प्रवेश गरेका छन् ।

भारतको मन्सुरीमा मजदूरी गर्ने राजापुर ४ दलैका घनश्याम चौधरी र उहाँकी पत्नी सरस्वती राजापुर नगरपालिकाको चौर्गुजी नाका हुँदै नेपाल प्रवेश गरेको स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेपछि दुवैलाई स्थानीय अमर शहीद बहुमखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।

यसैगरी सोमबार राति नै राजापुर घर भएका बजारका एक व्यापारी राति कर्णाली तरेर राजापुर बजारमा प्रवेश गरेकाले उनलाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ ।

नेपालसँग जोडिएको ८३ किमी लामो सीमामा एक हजारभन्दा बढी सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । सीमामा कडाइ भएकाले भारतबाट मानिस प्रवेश गर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.