www.tandavnews.com
Fact ~ In search of truth

नेपाल भित्रिने क्रम रोकिएन,आवतजावत रोक्न सीमामा निगरानी समूह गठन

बैतडी ।

लकडाउनको समयमा पनि भारतीय सीमा क्षेत्रबाट सर्वसाधारणको नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना भाइरस ९कोभिड—१९० सङ्क्रमण फैलिने जोखिम बढ्को छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रबाट सर्वसाधारणको नेपाल भित्रिने क्रम नरोकिँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन् । खुल्ला सिमानाका कारण महाकाली नदीमा ट्युबमार्फत तरेर सर्वसाधारण नेपाल भित्रिने क्रम जारी रहेको र नेपाल भित्रिने कतिपयले क्वारेन्टाइनमा नबसी सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ ।

Batas

सङ्क्रमणको जोखिम बढेपछि सीमाबाट आवतजावत रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ । बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत तरेर अवैधरूपमा नेपाली फर्कने क्रम नरोकिएपछि यहाँका सिमावर्ती स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेका हुन् ।

कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । यी स्थानीय तहहरुमा निगरानी समूह गठन गरिँदैछन् ।

निगरानी समूहले अवैधरूपमा महाकालीबाट स्वदेश नफर्कनका लागि माइकिङ गर्ने, सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहालेमा उनीहरुलाई क्वारेन्टाइनमा पुर्याउने काममा सहयोग गर्ने जनाएको छ ।

दशरथचन्द नगरपालिकाले सीमा क्षेत्रका वडामा निगरानी समूह गठनको काम भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । वडाध्यक्षको अगुवाइमा निगरानी समूह गठन गर्ने काम भइरहेको उनले बताए ।

यस्तै शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि निगरानी समूह गठन गर्न आग्रह गरिएको छ । लकडाउनको समयमा सीमानका बन्द रहेका बेला बैतडीमा अवैधरूपमा महाकाली नदीमा ट्युबमार्फत ६० जना भित्रिएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी २४सै घण्टा परिचालन गरिएको भए पनि सुरक्षाकर्मीको आँखा छलेर चोर बाटो हुँदै नेपाल प्रवेश गरिरहेका हुन् । अवैधरूपमा नेपाल भित्रिने नागरिकले ट्युबको महंगो शुल्क तिरेर भित्रिरहेका हुन् । उनीहरुले भारतीय रुपैयाँ ५०० देखि दुई हजारसम्म तिर्ने गरेका बताउने गरेका छन् ।

जिल्लास्थित भारतसँग सीमा जोडिएका विभिन्न छ स्थानमा चौकी स्थापना गरी यसअघि नै सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए । सशस्त्र प्रहरी सीमा क्षेत्रमा कडाइ गर्ने कार्य गरिररहेको छ ।

यसका साथै अवैध वारपार रोक्ने तथा कडाइ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीसँग सीमा जोडिएको भारतको पिथौरागढमा लकडाउन केही खुकुलो भएपछि पिथौरागढ क्षेत्रमा रहेका नेपाली स्वदेश फर्कन लागेका हुन् । भारतले पिथौरागढ जिल्लालाई ग्रिनजोनमा राखेर लकडाउन खुकुलो पारेको जनाएको हो ।

पिथौरागढलगायत भारतका विभिन्न जिल्लामा मजदुरी गर्दै आएका नेपाली अझै पनि स्वदेश भित्रिने तयारीमा रहेका छन् । यसअघि गत वैशाख १८ गतेमात्रै झुलाघाट नाका र धार्चुला नाकाबाट दुई हजार ५०० नागरिकको उद्धार गरिएको थियो । उद्धार गरिएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

विश्वव्यापीरूपमा कोरोना भाइरस महामारीका रुपमा फैलँदै गएपछि गत चैत ११ गतेदेखि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउन अगामी जेठ ५ गतेसम्म कायम रहने जनाएको छ भने सीमानाका जेठ १८ गतेसम्म बन्द रहने सरकारले निर्णय गरिसकेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.