www.tandavnews.com
Fact ~ In search of truth

धवलागिरि अस्पतालमा औषधि नहुँदा मिर्गौला पीडितको उपचार प्रभावित

बागलुङ ।

धवलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ । औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ । अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन् । ‘डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो ।’

उनले प्रदेश र संघका सम्बन्धित निकायमा औषधि व्यवस्थाका लागि माग गरिएको बताए । बजारमा पनि औषधिको खोजी भइरहेको छ । प्रमुख चिकित्सक पोखरेलका अनुसार उक्त औषधि भारतबाट आपूर्ति हुन्छ । ‘हामी केही दिनदेखि नै औषधि ल्याउन लागिपरेका छौँ, तुरुन्त औषधि नपाइए डायलासिस रोकिने अवस्था छ’, उनले भने । जिल्लामा धवलागिरि अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध छ ।

Batas

यसअघि दैनिक छ–सात बिरामीको मात्र डायलासिस गर्न सकिनेमा हालै क्षमता बढाएर १८–१९ पुर्याइएको छ । दुई चरणमा गरी डायलासिस सेवा दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालले दुई वर्षअघि मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलासिस सेवा शुरु गरेको थियो । कोरोनाले सिर्जित संकट र बन्दाबन्दीका कारण भारतबाट आउने औषधिको आपूर्ति असहज भएको बुझिएको छ ।

कोभिड–१९ लागेका दुई बिरामीलाई सफल उपचार गरेको धवलागिरि अस्पतालमा डायलासिससहित सबैखाले सेवा नियमित सञ्चालनमा छन् ।‘प्रसूति शल्यक्रियालगायत नियमित प्रदान गरिने कुनै पनि सेवा रोकिएको छैन’, प्रमुख चिकित्सक पोखरेलले भने ।

गत चैतमा दुई कोरोना संक्रमित भेटिएपछि उनीहरुको यही अस्पतालमा उपचार गरिएको थियो । बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला र सोही नगरपालिका–४ की १९ वर्षीया युवती उपचारपछि निको भइ घर फर्केका छन् । चैत ४ गते बेल्जियमबाट फर्कँदा दुवैमा कोरोना भेटिएको थियो ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.