www.tandavnews.com
Fact ~ In search of truth

थलिएको अर्थतन्त्र सुधार गर्ने कार्यक्रम ल्याउन सुझाव

काठमाडौं ।

कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलाई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम जरुरी रहेको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराएका छन् । महामारीलाई मध्यनजर गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष राहत प्याकेज ल्याउन, प्रभावकारी कार्यान्वयन प्रणाली लागू गर्न तथा रोजगारी प्रदान गर्ने गरी विशेष व्यवस्था गर्न सांसदहरुको आग्रह थियो ।

कोरोनाका कारण मुलुकको समग्र स्वास्थ्य क्षेत्र नै समस्यामा परेको सन्दर्भलाई जोड्दै उनीहरुले प्रभावकारी भौतिक पूर्वाधारसहितको स्वास्थ्य संस्था तथा जनशक्तिको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । कारोनाका कारण विदेशमा रोजगारी खोसिएका नेपाली नागरिकलाई देशभित्र फर्काएर उनीहरुलाई आधुनिक कृषि उद्यममा जोड्नुपर्ने र आत्मनिर्भरताको मार्गमा अगाडि बढाउनुपर्ने सांसदको भनाइ थियो ।

Batas

कोभिड–१९ को संक्रमण नियन्त्रणमा कतिपय अस्पताल र एम्बुलेन्सले हेलचेक्र्याइँ गरेको पाइएकाले त्यस्ता क्रियाकलाप आगामी दिनमा दोहोरिन नहुनेमा जोड दिँदै उनीहरुले बर्खायामको पूर्वसन्ध्यामा सम्भावित विपद् व्यवस्थापनका लागि थप तयारी गर्न सरकारले बेलैमा प्रभावकारी कदम चाल्न सुझाएका छन् ।

उनीहरुले विदेशमा अलपत्र नेपालीलाई सुरक्षा मापदण्डसहित नेपाल ल्याउने पहल गर्न अनुरोध गरे । प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै उनीहरुले कार्यान्वयन हुने बजेट नै मुलुकको प्रमुख आवश्यकता रहेको बताए ।

सांसद लक्ष्मणलाल कर्णले भारतलगायत विदेशी मुलुकमा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताए । उनले कोभिडका संक्रमित बढिरहेका पर्साको वीरगञ्जलगायत क्षेत्रमा आवश्यक स्वास्थ्य पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । कर्णले भने, ‘विदेशबाट फर्कने ठूलो सङ्ख्याका श्रमिकलाई व्यवस्थापनका लागि पनि सरकारले बजेटमा कार्यक्रम समेट्नुपर्छ । उनीहरुलाई कृषि उत्पादन, पशुपालनलगायत क्षेत्रमा आबद्धता गराइनुपर्छ ।’

सांसद सीतादेवी यादवले कोभिड–१९ को संक्रमण नियन्त्रण गर्दै यसको जोखिमबाट नागरिकलाई सुरक्षित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिन जरुरी भएको बताए । उनले कोडिभ–१९ परीक्षणको दायरा बढाउन आवश्यक स्रोतसाधन सम्पन्न बनाउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । यादवले जोखिम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतको पिसीआर विधिबाट स्वास्थ्य परीक्षण गरी जीवन बीमाको व्यवस्था गर्न समेत सरकारसमक्ष माग गरे ।

सांसद विमलप्रसाद श्रीवास्तवले कृषि उत्पादनलाई बढोत्तरी हुनेगरी आगामी आवको बजेट नीति तथा कार्यक्रम समेटिनुपर्ने बताए । उनले तरकारी तथा फलफूलजन्य वस्तुको परनिर्भरतालाई निरुत्साहित गर्न पनि कृषि उत्पादनलाई प्रोत्साहन गर्नेजस्ता विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

सांसद रामकुमारी चौधरीले कोभिडको परीक्षण दायरा द्रुतगतिमा बढाउन सरकारलाई आग्रह गरे । उनले कोभिडको सम्भावित जोखिम नियन्त्रणका लागि तीन तहका सरकारले समन्वय गरी आवश्यक व्यवस्थापकीय काम गर्नुपर्ने बताए । नेपाललाई कृषिमा आन्तनिर्भरतातर्फ उन्मुख गराउन कम्तीमा १० देखि १२ प्रतिशत बजेट विनियोजन गर्न उनले माग गरे ।

सांसद पुष्पा भुसाल कोभिड–१९ को महामारीबाट असुरक्षित बनेको नागरिकको स्वास्थ्य र शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरे ।

उनले भने, ‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीतिगत र व्यवहारिक बजेट आउनुपर्छ । प्रशासनिक क्षेत्रमा रहेको फजुल खर्चलाई कटौती गरी प्राथमिकतायुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्नेतर्फ बजेटमा विषयवस्तु समेट्नुपर्छ ।’ उनले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगलगायत विषयलाई बजेटले प्राथमिकता दिनुपर्ने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.