www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश नं २ मा मात्रै ९८ जना सङ्क्रमित, सिरहामा निषेधाज्ञा जारी

राजु विश्वकर्मा
लहान, रासस ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमतिको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको छ ।

पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।

Batas

कोरोना सङ्क्रमितको सङ्ख्या प्रदेश नं २ मा बढ्दै गएका कारण जोखिम बढ्ेकाले अर्काे सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए । सङ्क्रमण थप फैलिन नदिन यस्तो कदम चालिएको उनले बताए । केही दिनदेखि खुकुलो पारिएको लकडाउन आज बिहानदेखि कडा पारिएको छ ।

अर्काे जिल्लाबाट आउनेबिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रण लिई सङ्क्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको छ । यस्तै छिमेकी देश भारतबाट आवतजावत पूर्णरुपमा बन्द गरिएकाले लुकीछिपी नेपाल प्रवेश गरेको पाइएमा त्यस्ता व्यक्तिलाई लुकाउने र लुक्ने दुवैलाई सङ्क्रमण रोग नियन्त्रण ऐनबमोजिम कारवाही गरिने प्रजिअ गुरागाईँद्वारा जारी सूचनामा उल्लेख छ ।

सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको समेत प्रजिअ गुरागाईँले बताए । उनले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रदेश नं २ मा ९८ जना सङ्क्रमित

प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९८ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

हालसम्म प्रदेश नं २ मा तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको छ । जसमध्ये दुई हजार ६५६ को नेगेटिभ परिणाम आएको छ । ९८ जनाको पोजेटिभ परिणाम आएको छ भने एक हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश नं २ मा बढ्दै गएको सङ्क्रमणलाई हेर्दै सीमा व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको भनाइ छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन गर्ने प्रक्रिया शुरु गर्नुपर्ने विज्ञहरुले बताएका छन् । प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा चार हजार १९८ श्यया क्षमता छ । जसमा हाल एक हजार ४६८ क्वारेन्टाइनमा छन् । चार हजार ५२२ होम क्वारेन्टाइनमा छन् भने आइसोलेसन बेडमा जम्मा ४० जना छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.