www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनको मौका छोपेर कालोबजारी गर्ने भाटभाटेनीलाई कारवाही

चितवन ।

लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा चितवनकाे भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले रु एक हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ । उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई कारवाही गरिएको हो । भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरुङलाई सो सजाय सुनाइएको थियो । निज गुरुङले कैद बराबरको जरिवाना रकम तिरेर छुटेको उनले जानकारी दिए ।

Batas

यसैगरी रत्ननगरमा रहेको पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यामा पुस्तक बेचेपछि एक महिना कैद र रु एक हजार जरिवाना गरिएको छ । निजले पनि कैदवापतको जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ ।

यस्तै महङ्गो मूल्यमा फलफूल बिक्री गर्ने चार व्यवसायीलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा काठमाडौँ फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई रु २५/२५ हजार र हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई रु १०/१० हजार धरौटी तोकिएको उहाँले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्यभन्दा महङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि धरौटी तोकी तारेखमा छाडिएको सिम्खडाले बताए । उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(५) बमोजिम कारवाही गरिएको उनले जानकारी दिए । लकडाउनको मौका छोपी महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने काम गरिरहेको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.