www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश नं २ का आठवटै जिल्लामा कोभिड-१९ संक्रमण

महोत्तरी ।

प्रदेश नं २ का आठवटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमण प्रभावित बनेका हुन् । सो जिल्लामा आज पहिलोपटक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा स्वाब परीक्षण गरिएका मध्ये यस प्रदेशका चार जनामा सो सङ्क्रमण पुष्टि भएको सो निर्देशनालयले जनाएको छ । सिरहामा एक, पर्सामा दुई र सर्लाहीका एकसमेत चार जना भएका निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

Batas

पछिल्लो तथ्याङ्कसँगै प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १०८ पुगेको छ । ती मध्ये पर्साका सर्वाधिक बढी ९१, धनुषाका चार, रौतहट, बारा र सर्लाहीका तीन–तीन, महोत्तरीका दुई र सप्तरी र सिरहाका एक/एक छन् ।

कोभिड–१९ रोकथाम अभियानअन्तर्गत यस प्रदेशमा शुक्रबारसम्म चार हजार ९८० को स्वाब सङ्कलन गरिएको छ । गतबुधबार, बिहीबार र शुक्रबार गरी तीन दिनभित्र एक हजार ४४ जनाको स्वाब सङ्कलन भएको उनले बताए । अहिलेसम्म स्वाब सङ्कलन गरिएमध्ये तीन हजार ९२४ को जाँच नतिजा आइसकेको र त्यसमा १०८ पोजेटिभ पाइएका हुन् । एक हजार ५२ जनाको नतिजा आउन बाँकी छ ।

सीमा क्षेत्रको आवतजावत मात्र नभएर एउटै पालिकाका एक बस्तीबाट अर्को बस्तीमा पनि आवागमनमा कडाइ गरिएको छ । अनावश्यक हिँडडुल गर्ने जोसुकैलाई कारवाही गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लामा निर्देशन गरेपछि थप कडाइ बढाइएको हो । प्रदेशमा जोखिम बढ्दै जाँदा आइसोलेसन श्ययाको अभाव खट्कदै छ । प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा ५०, प्रादेशिक अस्पतालमा ४२ र वीरगञ्जकै पोखरियामा आठ श्य्या छन् । अहिले सङ्क्रमित नै १०८ पुगेपछि श्यया तत्काल थप्नुपर्ने आवश्यकता औल्याइएको छ ।

महोत्तरीको जलेश्वर अस्पताल, सप्तरीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र बाराको कलैया अस्पतालमा कोभिड–१९ उपचारका लागि थप श्यया ब्यवस्था गर्ने भनिए पनि ती अस्पताल यस प्रयोजनमा अझै सञ्चालन हुनसकेका छैनन् ।

प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन प्रक्रिया सघन गरिन पर्ने विज्ञले सुझाएका छन् ।

प्रदेशमा भर्खरै दुई क्वारेन्टाइन केन्द्र थपेर १८१ बनाइएको छ । चार हजार २६७ यस्ता श्ययामा हाल एक हजार ९१५ जना रहेका छन् । त्यसैगरी स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ६८८ रहेको सो निर्देशनालयले जनाएको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.