www.tandavnews.com
Fact ~ In search of truth

पहिलो पटक कोरोना पुष्टि भएपछि गुल्मीमा त्रास

गुल्मी ।

पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास देखिएको छ । मदाने गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी ज्वरो र रुघाखोकीको समस्या देखिएपछि यही जेठ १ गते मदानेको पुर्कोट दहबाट ए्म्बुलेन्समार्फत उपचारका लागि रुपन्देहीको क्रिमसन अस्पताल गएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । स्वास्थ्यकर्मीको सल्लाहमा तत्कालै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुँदै रुपन्देही गएका हुन् ।

ज्वरो र रुघाखोकीका कारण कोरोनाको आशंका गरेर अस्पतालले जेठ २ गते स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज संक्रमणको पुष्टि गरेपछि यतिबेला जिल्ला थप त्रसित बनेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लामै पहिलो पटक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खबर पाएपछि संक्रमितको घरलाई बन्द गरिएको जानकारी दिए ।

परिवारका सदस्यलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंकामा बाहिर निस्कन रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । परिवारका सदस्यको कोरोना परीक्षणपछि मात्रै संक्रमण भए नभएको थाहा हुने भएकाले निगरानीमा राखिएको गाउँपालिकाले जनाएको छ ।

पोलिक्लिनिक बन्द

अर्घाखाँची– गुल्मी मदानेका कोरोना संक्रमितले उपचार गराएको अर्घाखाँचीको छाया पोलिक्लिनिक बन्द गरिएको छ । मदानेका संक्रमितले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि शुरुमा पोलिक्लिनिकमा जाँच गराउँदा सम्भव नभएपछि उनी रुपन्देहीको क्रिमसन अस्पतालमा गएर भर्ना भएकाे सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

छाया पोलिक्लिनिक बन्द गरेर त्यहाँ रहेका चिकित्सक, स्वास्थ्यकर्मी, उपचारका लागि आएका सबै बिरामी र सम्पर्कमा आएकाहरुको खोजी गरी कोरोना परीक्षण गरिने जनाइएको छ ।

(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.