www.tandavnews.com
Fact ~ In search of truth

दमौली बजार हप्ताको चार दिन खुल्ने

तनहुँ ।

सदरमुकाम दमौली बजार आज मंगलबारदेखि लागु हुने गरी हप्ताको चार दिन तीन घण्टाका दरले खुल्ने भएको छ । यसअघि दैनिक समयावधि तोकी पसल खुलाउने गरे पनि मानिसको चहलपहलमा वृद्धि हुँदै गएपछि न्यूनीकरणका लागि समयावधि घटाइएको हो ।

व्यास नगरपालिका बजार अनुगमन समितिले यही जेठ ६ गतेदेखि लागु हुने गरी हरेक हप्ता सोमबार, मंगलबार, बुधबार र बिहीबार बिहान ११ देखि अपराह्न २ बजेसम्म दमौली बजार क्षेत्र खुला राखिने निर्णय गरेको समितिका संयोजक एवं नगर उपप्रमुख मीरा जोशीले जानकारी दिए ।

Batas

क्वारेन्टिनमा बस्ने बढ्दै

पछिल्लो समय क्वारेन्टिनमा बस्ने पुनः उकालो लाग्न थालेको छ । शून्य अवस्थामा पुगेको तनहुँमा कोरोना संक्रमित रेडजोनबाट मानिस आआफ्नाघर आउने क्रम जारी रहेपछि क्वारेन्टिनमा बस्नेको संख्यामा वृद्धि भएको हो । जिल्लामा हाल दुई महिलासहित ४३ जना क्वारेन्टिनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

तनहुँमा हालसम्म ५८६ पुरुष र ८२ महिलाको आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी २४ पुरुष र १५ महिला गरी ३९ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पाँच जनाको आउन बाँकी रहेको प्रमुख अधिकारीले बताए।

त्यस्तै जिल्लाका विभिन्न हेल्थ डेस्कबाट ४९३ महिलासहित एक हजार ९०७ जनाको तापक्रम मापन गरिएको बताइएको छ ।

खानेपानी योजना प्रभावित

अन्तिम चरणमा पुगेको जिल्लाको दक्षिण भेगमा पर्ने गोठार्दी डुकुडाँडा खानेपानी योजनाबाट ऋषिङ गाउँपालिका–६ का बासिन्दा प्रभावित बनेका छन् ।

बन्दाबन्दीका कारण प्राविधिक आउन नसक्दा पाइप विस्तार गरी घरघरमा धारा जडान रोकिएपछि स्थानीयबासी चिन्तित भएको गोठार्दी डुकुडाँडा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए । उक्त योजनाबाट त्यस क्षेत्रका १९० घरधुरीका करीब एक हजार बासिन्दा लाभान्वित हुने बताइएको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.