www.tandavnews.com
Fact ~ In search of truth

‘प्रवीण गुरुङ’ हत्या प्रकरण : ‘राजु अछामी’ पुर्पक्षका लागि थुनामा

१० नाबालकलाई लकडाउन खुलेसँगै बाल सुधारगृहमा पठाइने

दमौली ।

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले गुरुङको हत्यामा संलग्न भएको अभियोगमा भानु नगरपालिका–५ बस्ने राजु अछामीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सोही अभियोगमा पक्राउ परेका भानु–५ का १० नाबालकलाई बन्दाबन्दी खुलेसँगै बाल सुधारगृहमा पठाउने गरी संरक्षकको जिम्मा लगाइएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै उनीहरुलाई हाल अभिभावकको जिम्मा लगाइएको जिल्ला अदालत तनहुँ फिराद शाखाले जनाएको छ । उनीहरुलाई पछि बाल सुधारगृह कास्की पठाइनेछ ।

Batas

त्यसैगरी भानु–५ का वडाध्यक्ष प्रकाश मल्ललाई रु ५० हजार र भानु–६ का गोविन्द मगरलाई रु एक लाख धरौटी लिएर तारेखमा रिहा गर्ने आदेश भएको छ । साथै सोही अभियोगमा पक्राउ परेका तीन जनालाई भने साधारण तारेखमा रिहा गर्ने अदालतको आदेश छ ।

गुरुङको हत्या अभियोगमा मृतकका बुबा बुद्धिराजले वडाध्यक्ष मल्लसहित १६ जनाविरुद्ध गत वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरेका थिए । वैशाख ९ गते रातिदेखि हराएका गुरुङ भानु–५ नावरुङस्थित खोल्सामा १० गते साँझ मृतावस्थामा फेला परेका थिए ।

वडाध्यक्ष मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि उनले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाएका थिए । सामान लिन पवनसँगै उनका साथी दीपक भण्डारी, अङ्कित अधिकारी र गुरुङ पनि नावरुङ पुगेका थिए । नावरुङमा स्थानीयवासी गोविन्द थापा मगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीयवासी युवा र गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि गुरुङ बेपत्ता भएका थिए ।  रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.