www.tandavnews.com
Fact ~ In search of truth

ए एण्ड बी अस्पतालमा विवाद, ‘अन्याय भयो’ : सिइओ लता

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

पोखरा २ स्थित ए एण्ड बी अस्पतालमा पुरानो विवाद फेरी बल्झिएको छ । अस्पतालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) एस लता लक्ष्मी पराजुलीले अन्यायमा परेको गुनासो गरेकी छिन् ।

पदले सिइओ भएपनि लताले अहिलेसम्म एक बर्षको तलब नपाएपछि ३ पटक श्रम तथा रोजगार कार्यालय पोखरा गुहार्दा समेत निकास नपाएको बताईन् । तलब मात्र नभएर अहिले उनलाई पद बाट नै हटाइएको छ । कोरोना माहामारीको बेलामा पनि अस्पतालमा आफ्नो काम गर्न पुगेकी लतालाई बैशाख २१ गतेदेखी पदबाट निकालिएको गुनासो गरेकि छिन् ।

Batas

अस्पतालको शेयर सदस्य समेत रहेकी लतालाई आफ्नो श्रीमान डाक्टर अनिलबाबु पराजुलीले साथ छोडेर वेपत्ता भएपछि अन्य वोर्ड सदस्यले अन्याय गरेको उनको भनाई छ ।

लताका अनुसार एक बर्षको तलब करिब १७ लाख ५० हजार र थेरापी कमिसन वापतको २५ लाख बढि रकम पाएकी छैनन् । आफु सिइओ भएपनि सम्पूर्ण काम र अधिकार प्रवन्ध निर्देशकको हातमा रहेको हुदा अन्याय परेको उनको गुनासो छ । श्रीमानले २ वर्ष अघिदेखी आफु र ११ वर्षिया छोरीको बेवास्ता गर्न थालेपछि जिल्ला अदालतमा अंशवन्डा मुद्दा हालेकी छिन् ।

श्रीमान अनिलबाबु पोखरा–२ का स्थानीय हुन् भने लताको माईती भारतीय हुन् । लताको पोखरामा कोही सहयोग गर्ने व्यक्ति नभएपछि श्रीमान र बोर्ड सदस्यले अन्याय गरेको स्रोतले बतायो ।

लताले २०७४ सालमा आफ्नो श्रीमान अनिल बाबु पराजुली र अस्पताल प्रशासनविरुद्ध जालसाझी र लिखित वदरको मुद्दा जिल्ला अदालत कास्कीमा हालिन् । त्यसमा फस्ने भए भनेर बोर्ड सदस्यहरुले मुद्दा फिर्ता लिन भन्दै लतालाई सिइओको जिम्मा दिने सर्त राखे । त्यही सर्त अनुसार लताले मुद्दा फिर्ता लिइन् ।

डाक्टर अनिलबाबुलाई बोर्ड सदस्यको बैठकले सिइओ पदबाट हटाएर लतालाई नियुक्ति दिएको थियो । २०७५ असार ५ गते बसेको बैठकले अनिलबाबुलाई पदमुक्त गराई त्यसको भोलीपल्ट असार ६ गते लतालाई सिइओ पदमा नियुक्त गर्ने निर्णय ग¥यो ।

निर्णय अनुसार असार १५ गते नियुक्ती पत्र समेत लतालाई दियो । ४ वर्षको लागि नियुक्ति दिएर महिनाको १ लाख ५० हजार तलब दिने उल्लेख पत्रमा छ । लताको अनुसार उनले सुरुवातको ४ महिना तलब पाईन त्यसपछि तलब रोकियो ।

उनले तबल नपाएको आवाज उठाउन थालेपछि २०७६ भदौ २२ गते १ लाख ४८ हजार लताको खातामा आयो र बोर्डले ३ महिना भित्रमा बाँकी पुरै तलब दिने मौखिक प्रतिवद्धता व्यक्त गरे ।

तलब पाउनु त कहाँ छ कहाँ, उल्टो २ महिनापछि कार्तिकबाट उनको तलब घटाएर १ लाख ५ हजार बनाइएको लता सुनाउछिन् ।

‘एक बर्षको तलब र थेरापी कमिसन रोके, त्यति मात्र होइन विना वैठक नियुक्ति पत्रलाई वेवास्ता गर्दै मेरो तलब पनि घटाइयो,’ उनले भनिन्, ‘यदी तलब घटाउने कुरा बैठकबाट भएको भएपनि मान्ने थिएँ होला, जबकी म मेरो श्रीमान पछि सबै भन्दा धेरै शेयर होल्डर साथै बोर्ड सदस्य पनि हुँ ।’

परिवारबाट मात्र नभएर संस्थाबाट पनि अन्याय भएको गुनासो लताले पोखिन् । ‘श्रीमानले म र मेरो छोरीको बेवास्ता गरेपछि मैले अदालमा मुद्दा हालेकी छु, अहिले न श्रीमान सम्पर्कमा छन न त उनको परिवारलेनै साथ दिएका छन्,’ उनले भनिन्, ‘उहाँ हराएपछि अहिले बोर्ड सदस्यले त्यही फाइदा उठाएर मलाई अन्याय गरेका हुन् । मेरो पद मात्र सिइओ हो, अरु त कुरै छाड्नु होस् कर्मचारी नियुक्ती लेखाजोखा, वैठकको माइन्युट समेत हेर्न दिदैन् । म भन्दा पदमा जुनियर यस अघिका प्रबन्ध निर्देशक ऋषिराम खतिवाडा र हालका राधाकृष्ण पोखरेलले सबै अधिकार लिएको आरोप उनले लगाइन् ।

१२ बर्ष अघि अस्पताल स्थापन गर्दा देखि हालसम्म आफु अस्पतालको हितमा खटिएको लताले बताईन । ‘मलाई अस्पतालको अवस्था विगारेको भन्दै आरोप लगाउदै केही शेयर सदस्यहरुले गतल प्रचार गरेका छन्,’ उनले भनिन्, ‘मेरो श्रीमान वेपत्ता छ, माइती यहाँ छैन, कोही आफन्त छैन, मेरो लागि यही अस्पतालनै सबै कुरा हो मैले अस्पतालको अहित गर्न सक्छु ?’

संस्थामा पैसा छैन कहाँबाट दिनु : प्रवन्ध निर्देशक पोखरेल

ए एण्ड बि अस्पतालका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेलले संस्थामा पैसा नभएको कारणले सिइओ लताको तलव रोकिएको बताए ।

‘लता र उनको श्रीमान अनिलबाबुको कारणले अस्पताल राम्रोसँग संचालन गर्न सकिएको छैन्,’ उनले भने, ‘उनको श्रीमानको सबै भन्दा धेरै शेयर ४९ प्रतिशत शेयर छ, उहाँ कहाँ हुनुहुन्छ केही पतो छैन र दोस्रो धेरै शेयर लताकै छ ३१ प्रतिशत, संस्थामा पैसा छैन केगर्ने भनेर दाइत्व उनीहरुको पनि हो ।’ लतासँग मिलेर काम गर्ने नसकिने निर्देशक पोखरेलले बताए ।

‘हामीले सबैको तलब घटाएका छौ, लताको मात्र होइन,’ उनले भने, ‘तलब दिने भनेकै छ, बरु कमिसन पछि भन्ने कुरा भएको छ । लताले राम्रोसँग जिम्मेवारी पुरा गर्न नसकेपछि हामीले उनले गर्न नसकेको र गलत गरेको कामको २७ बुँदा समेत बुझाएका छौं ।’

संस्थाले लोन लिएर अघि बढम् भन्दा पनि मिलेको छैन् । ‘श्रीमान श्रीमतीको विवादले गर्दा संस्थालाई अघि बढ्न रोकेको हो । अहिले हामीले तलालाई भनेका छौ उहाँको शेयर हामी अन्य शेयर सदस्यले किन्छौ कि हाम्रौ २० प्रतिशत तपाईले किनेर संचालन गर्नु, उहाँ केही भन्दा पनि मान्नु हुन्न ।’ संस्था २ करोड २० लाख ऋणमा रहेको पोखरेलले सुनाए ।

कुरा बुझ्नै गाह्रो : श्रम कार्यालय

ए एण्ड बि अस्पतालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) एस लता लक्ष्मी पराजुलीले श्रम तथा रोजगार कार्यालय पोखरा न्यायका लागि ३ पटक गुहार मागिन् ।

त्यस कार्यालयका प्रमुख फेरीए तर लताको समस्या डेढ वर्ष अघिदेखी जस्ताको त्यस्तैै छ । पछिल्लो समय श्रम कार्यालय पोखराले २०७६ पुस ११ गते कार्यालयमानै त्रि पक्षीय वार्ता डाक्यो । वार्ताले निकास भने पाएन् ।

आफु शेयर सदस्य भएको हुनाले आफै मिलाउनु पर्ने भन्दै श्रम कार्यालय तर्किएको लताको गुनासो छ । ‘आफै अनर आफैले तलबको समस्या ल्याउन मिल्दैन भन्दै श्रम कार्यालय तर्कियो,’ उनले भनिन्, ‘तपाईले तलब पाउन अब कम्पनी रजिष्टर कार्यालय जानु होस भनेपछि झन पिडा भयो ।’

यता श्रम तथा रोजगार कार्यालयका प्रमुख गणेश श्रेष्ठले लता शेयर सदस्य भएको हुनाले आफै मिलाउनु पर्ने जवाफ दिए । ‘आफै शेयर सदस्य हुन उहाँ, यो केश हामीले हेर्न होइन,’ उनले भने, ‘केश लामो छ, अस्पताल गएर बुझ्नु होस । लता मानवअधिकार लगायत संस्था जानु भएको छ । त्यही पनि हामीले त्रि पक्षिय वार्ता बोलाएका थियौ । बोर्ड सदस्यहरुले पछि पैसा दिन्छु भन्नु भएको छ । तर कहिले दिने भन्ने विषयमा प्रमुख श्रेष्ठले केही बताएनन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.