www.tandavnews.com
Fact ~ In search of truth

राधाकृष्ण जी ! तपाईंको धम्कीले कलम रोकिन्न

 

 

 

 

– अर्जुन गिरी

अस्पतालमा हुने विवाद व्यक्तिगत मामलामात्रै हुन सक्दैन । सार्वजनिक महत्व राख्ने संस्थाका विवाद सार्वजनिक चासोका विषय हुन्छन् , समाचारका विषय हुन्छन् । ए एन्ड बी अस्पतालमा उल्लेख्य शेयर रहेको र प्रमुख कार्यकारी अधिकृत (सीइओ) एस लता लक्ष्मी पराजुली भएको व्यक्ति नै अल्पमत शेयर भएकाहरुबाटै हटाइन्छ र तलब पनि दिइन्न, अनि ती सीइओ अन्याय भन्दै गुहार माग्छिन् ।

Batas

माइती टाढा भएकी र कर्मभूमिमा कोही अरु आफन्त नभएकी एउटी महिलाको गुहार कसैले सुन्दैन भने यस्तो विषय समाचार बन्छ । हामीले बनायौं । समाचारमा सन्तुलन कायम गर्न र दुवै पक्षको मात्रै होइन सरकारी निकायको समेत भनाइ राख्ने कर्तव्य पनि पूरा गर्यौँ ।

तर जो माथि अन्याय गरेको आरोप लागेको छ, उही अस्पताल चलाइरहेका व्यक्ति समाचारमाथि आपत्तिमात्रै जनाउँदैनन् , उल्टै पत्रकारमाथि धम्की दिन्छन् । समाचार लेख्ने पत्रकारमाथि नै धाकधम्की दिन आँट गर्नेले ती महिलालाई कति थर्काए होलान् , कति धम्क्याए होलान् , सहजै अनुमान गर्न सकिन्छ ।

अस्पतालका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेल विवाद मिलाउने भन्दा थर्काउने र धम्काउने काममा उद्दत छन् । ताण्डव न्यूजलाई समेत धम्क्याएका छन् । उनी मिडिया कसरी चल्छन् , पत्रकार कसरी चल्छन् ? भन्दै धम्काउँछन् ।

आफ्नै अस्पतालको व्यवस्थापन राम्रोसँग गर्न नसक्ने, सेयर होल्डरबीच झैझगडा गर्ने, मेजर शेयर होल्डर अन्यायमा परे भन्दै गुहार माग्दै हिँड्ने, त्यही विषय समाचार बनाउने ताण्डव न्यूज र यसका सम्पादक अर्जुन गिरीका व्यक्तिगत कुरा लेखाउन सक्छु भन्दै धम्क्याउने, यस्तो आँट पोखरेललाई कहाँबाट आयो ?

पोखरेलजी तपाईंले फोनमा धम्कीको भाषामा ‘म यहीं को हुँ, तपाईं पनि यहींको’ भन्नुको अर्थ के हो ? जसको सुनिदिने कोही छैन त्यस्ता आवाजविहीनको आवाज नलेखेर तपाईंजस्ता धम्कीको भाषामात्रै जान्नेले जे भन्यो त्यही लेख्ने हो पत्रकारले ?

कृपया, पोखरेल जी अनुरोध छ, पत्रकारिता तपाईंले सिकाइरहन पर्ने विषय होइन । पत्रकारिता तपाईंले पढाइरहनुपर्ने पाठ होइन, जुन हामीलाई विश्वविद्यालयले सिकाइसकेको छ, पढाइसकेको छ । अनुभवको भट्टीले खारिसकेको छ ।

पोखरेलजी समाचारमा कुनै खोट नदेखेपछि तपाईं लताले पाउने कमिसन वापतको रकममै समाचारमा उल्लेख गरे भन्दा थोरै हो भन्दै कुर्लिउनु भयो । अस्पतालकी सीइओ लताले एक वर्षको तलब करिब १७ लाख ५० हजार रुपैयाँ र थेरापी कमिसन वापतको २५ लाख रुपैयाँभन्दा बढी रकम नपाएको गुनासो मिडियामा मात्र होइन श्रम तथा रोजगार कार्यालय पोखरामा पनि जानकारी गराइएकी छिन् । सोही अनुसार समाचारमा प्रकाशन गरियो ।

पोखरेल जी तपाईंले मलाई फोनमा धम्क्याएपछि फेरि पनि मैले लताको कुरा पुन भेरिफाई गर्न उनलाई फोन गरें । लताले पटकपटक दोर्होयाइन्, थेरापी वापतको कमिसन पाएकी छैन, त्यो २५ लाख रुपैयाँभन्दा बढी नै छ । यो विषय तपाईंले संस्थाभित्र कानुनसम्मत तवरले टुंग्याउनुपर्ने विषय हो, पत्रकार र समाचार संस्थालाई धम्क्याएर कलम रोक्न खोजेर समाधान निस्कन्न ।

राधाकृष्ण जी, समाचार लेख्ने पत्रकारलाई धम्काउनुभन्दा आफ्नो थैलीको मुख राम्रोसँग बाँध्नुस् । संस्थाभित्रको विवाद मिलाउनुस् , लेनदेनमा न्याय अन्याय के भएको छ, कानुन अनुसार लेख्नुस् र संस्थाभित्रका कुरा पत्रकारसम्म नआइपुग्ने वातावरण बनाउनुस् ।

तपाई सुध्रिनु भएन वा तपाईंको संस्थाभित्रको विवाद न्यायसंगत ढंगले समाधान गर्नु भएन भने हामी लेखिरहन्छौं । हाम्रो काम समाचार खोजिरहने र लेखिरहने हो । तपाईंको धम्कीले मेरो कलम रोकिन्न । धन्यवाद !

सम्बन्धीत न्यूज

ए एण्ड बी अस्पतालमा विवाद, ‘अन्याय भयो’ : सिइओ लता

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.