www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोरोना परीक्षणको दायरा बढाइने

कृष्ण दवाडी
कास्की, रासस ।

कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा परीक्षणको दायरा बढाइने भएको छ । पछिल्लो समय अन्य प्रदेशमा सङ्क्रमित बढेको तथा आगामी दिनमा विदेशबाट समेत नेपालीलाई उद्धार गरी ल्याउने अवस्थालाई मध्यनजर गरी पिसीआर परीक्षणको दायरालाई अझ फराकिलो बनाउने तयारी प्रदेश सरकारले गरेको छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल, मन्त्रालयका सचिव तथा स्वास्थ्य निर्देशनालयका निर्देशक, स्वास्थ्यकर्मीलगायतको बिहीबार बसेको बैठकले प्रदेशमा पिसीआर परीक्षणको दायरा बढाउने र आपूर्ति वृद्धि गर्ने निर्णय गरेको जनाइएको छ ।

Batas

कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएका, आरडिटी पोजिटिभ आएकालगायतकाको परीक्षण प्रोटोकलअनुसार पिसीआर गरिँदै आएकामा अब प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी, नमूना सङ्कलक, आकस्मिककक्षका कर्मचारीलगायतको समेत परीक्षण शुरु गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । स्वास्थ्यकर्मीको हालसम्म परीक्षण नगरिएकाले समेत उनीहरुको तत्कालै परीक्षण शुरु गरिने जनाइएको छ ।

त्यसैगरी छिमेकी मुलुक भारत तथा विदेशमा अलपत्र परेकाहरुलाई आगामी दिनमा सरकारले उद्धार गरेर ल्याएको अवस्थामा उनीहरुको समेत परीक्षण गर्नका लागि पिसीआर परीक्षण किट तथा केमिकल आपूर्ति वृद्धि गर्ने बारेमा समेत अहिलेबाटै योजना बनाइएको उनले जानकारी दिए । प्रदेशमा हालसम्म एक हजार ५२० को पिसीआर विधिबाट परीक्षण गरिएकामा त्यसलाई वृद्धि गरेर तीनदेखि चार हजारसम्म पु¥याउने योजना रहेको निर्देशक शर्माले जानकारी दिए ।

उनले भने , “भारतबाट आउने र अन्य मुलुकबाट सरकारले उद्धार गरेर ल्याउने नेपालीको पिसीआर परीक्षणलाई लक्ष्य गरेर अहिलेबाटै आपूर्ति बढाउने बारेमा छलफल गरेका छौँ । परीक्षण सामग्री माग गर्ने, कति किन्ने बारेमा समेत योजना बनाएका छौँ र हालको परीक्षणको दायरालाई अझ फराकिलो बनाउँछौँ ।”

विदेशमा भीसा समस्यामा परेकालगायत अप्ठ्यारोमा परेका छ हजार जतिलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थाका सम्बन्धमा समेत छलफल गरी गण्डकी प्रदेशमा आउने सम्भावित ९०० जनाको परीक्षणका लागि तयारी गर्ने बारेमा समेत योजना बनाइएको बताइन्छ । प्रदेशमा सङ्क्रमित बढेको अवस्थामा कम्तीमा पनि १५ हजारको परीक्षणको लक्ष्य राख्नुपर्ने बताइन्छ । प्रदेशमा हालसम्म छ हजार ९९८ जनाको आरडिटी गरिएको छ ।

प्रदेशमा अहिलेसम्म पाँच जनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुईको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.