www.tandavnews.com
Fact ~ In search of truth

फलोअप : ए एन्ड बी अस्पतालमा अरु कर्मचारी पनि पीडित

अर्जुन गिरी
पाेखरा, ताण्डव न्युज ।

पोखरा–२ स्थित ए एन्ड बी अस्पतालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) एस लता लक्ष्मी पराजुली मात्र नभएर अरु कर्मचारीले पनि अन्यायमा परेको गुनासो आएको छ ।

सेयर होल्डरसमेत रहेकी लताको गुनासो मिडियामा आएपछि अरु कर्मचारीले पनि ताण्डव न्युजसँग आफ्नो व्यथा पोखे । अहिले अस्पतालमा २ पक्ष छन् । लता एकातिर एक्लै, अर्कोतिर अस्पतालका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेलको टोली छ । पदले लता सिइओ भए पनि अधिकार उनले पाएकी छैनन् । तर थेरापीको गाइड उनले गर्छिन् ।

Batas

अस्पतालको वार्डको जिम्मेवारी पोखरेल समूहले लिइरहेको एक कर्मचारीले नाम नबताउने सर्तमा ताण्डव न्युजसँग बताए । ‘लताको जिम्मेवारीमा परेको थेरापीका कर्मचारी अन्यायमा परेका छन्,’ ती कर्मचारी भन्छन्, ‘थेरापीमा काम गर्ने कर्मचारी नै लताको पक्षको हो भन्ने गलत बुझाई राखेर तलब थोरै दिने र अवधि पुगेकालाई पनि तलब बढाइएको छैन । थेरापीमा २२ महिना काम गर्दा पनि त्यही सेयर होल्डरको झगडाले तलब नबढेपछि काम छोडेर गएका छन् ।’

‘सिइओ भएर पनि आफै अन्यायमा परेकी लतासँग के गुनासो गर्नु, प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेल रिसाउँदै हेपेर कुरा गर्छन्,’ पीडित कर्मचारी भन्छन्, ‘फुलटाइम काम गर्ने मजदुरलाई सरकारले तोकेअनुसार १३ हजार ५ सय रुपैयाँ तलब हुनुपर्ने तर १० हजार रुपैयाँ भन्दा कम दिएका छन्,’ एक कर्मचारीले भने, ‘उता वाडपट्टिको सिस्टरको १५ देखि १६ हजारसम्म तलब छ । हामी सिएनए, एनएमलाई ९ हजार ९ सयमात्र दिएको छ ।’

सरकारी मापदण्ड अनुसार तबल दिने भनेर कर्मचारीलाई पान नम्बर बनाउन लगाए पनि अझैसम्म कुनै सुनुवाइ नभएको पीडित कर्मचारी बताउँछन् ।

अस्पतालमा थेरापीतिर ७ जना कर्मचारी थिए । जसमध्ये अवधि पुगे पनि पटकपटक कुरा गर्दा तलब नबढेपछि ३ जनाले संस्था छोडेको त्यहींका कर्मचारीले सुनाए । तलब नबढाउने कुरामात्र होइन लकडाउनको बेलामा पनि अन्याय गरेको उनीहरुको गुनासो छ ।

‘अस्पताल जस्तो संस्थामा चैत ११ गतेदेखि लकडाउन छ भनेर काममा नआउन भनियो,’ पीडित कर्मचारीले भने, ‘त्यो बेला १० हजार रुपैयाँ महिनाको तलब खानेलाई ५ हजार रुपैयाँमात्र दिइयो । त्यसपछि वैशाख २२ गते काममा बोलाइयो । अहिले जेठ ७ गते १० हजार रुपैयाँ तलब खाने कर्मचारीलाई ३ हजार ३ सयमात्र तलब हालिएको छ । अब आज ९ गतेदेखि नआउन भनिएको छ । बिरामीलाई पनि यत्तिकै डिस्चार्ज गर्ने होलान् ।’

विगतमा पनि अस्पतालको सेयर होल्डरबीच झगडा हँुदा बिरामीलाई समयअघि नै डिस्चार्ज गर्ने अनि भर्ना गर्नुपर्ने बिरामी भर्ना नगर्ने नगरेको अनुभवी कर्मचारीको भनाइ छ । ‘जहिलेबाट लताको श्रीमानले छाडे त्यो दिनदेखि लता अन्यायमै परेकी छिन् । उनको यहाँ कोही छैन, यसलाई यहाँबाट निकालेर संस्था चलाउने दाउमा छन् केही सेयर होल्डरहरु,’ कर्मचारी भन्छन् ।

केहीको तलब सरकारी स्केल अनुसार नहुन सक्छ : पोखरेल

अस्पतालका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेलले केही कर्मचारीको तलब सरकारी स्केल अनुसारको नहुन सक्ने बताए । ‘पहिला लता र उनको श्रीमान्ले तोकेको तलब अनुसार थेरापीको कर्मचारीको तबल अहिले पनि छ,’ उनले भने, ‘सरकारले तोकेको मापदण्ड अनुसार एक–दुई जनाको त्यस्तो हुन सक्छ ।’

लकडाउनको बेला कर्मचारी आफै डराएर नआएको पोखरेलको भनाइ छ । ‘लकडाउनको बेला हामीले नआउन भनेको हैन, उनीहरु डराएर नआएका हुन्,’ उनले भने, ‘तलबको कुरामा संस्थाको नियम हुन्छ, फाइदा हुँदा रकम दिने अथवा बोनस दिने हुन्छ । लकडाउनको बेला उनीहरुलाई दिन गन्ती अनुसार रकम हालेका हौं । फेरिपछि थप्ने कुरा भएको छ । अस्पतालको हकमा आज र भोलिसम्म बिरामी ठिक हुन्छन्, त्यसपछि हामीले इमर्जेन्सी मात्र सञ्चालन गर्छौं ।’

यो पनि पढ्नुहोस्

राधाकृष्ण जी ! तपाईंको धम्कीले कलम रोकिन्न

ए एण्ड बी अस्पतालमा विवाद, ‘अन्याय भयो’ : सिइओ लता

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.