www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पिसीआर नेगेटिभ

कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जनाको कोभिड–१९ जाँचका लागि गरिएको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

यही जेठ ११ गतेका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको बैठकअघि सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब सङ्कलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Batas

त्यसैगरी बजेट अधिवेशन शुरु हुनुअघि सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी तथा प्रदेशसभा सदस्यका स्वकीय सचिव गरी बुधबार ११२ र शुक्रबार थप ४७ जनाको पिसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । उनीहरुको नतिजा आइसकेको छैन ।

हालको प्रदेशसभा भवन साँघुरो भएकाले सामाजिक दूरी कामय गर्न कठिनाइ भएपछि प्रदेशसभाको बैठक पोखरा सभागृहमा बस्न लागेको छ ।

बैठकलाई लक्ष्य गरेर हाल सभागृहको मर्मत, रङगरोगन तथा सभाहलमा नयाँ कुर्सी जडानको काम भइरहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए ।

प्रदेशमा हालसम्म एक हजार ५२० को पिसीआर विधिबाट परीक्षण गरिएकामा परीक्षणको दायरा वृद्धि गरेर तीनदेखि चार हजारसम्म पुर्या‍उने योजना रहेको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिलेसम्म पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुई जनाको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको छ । (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.