www.tandavnews.com
Fact ~ In search of truth

सुनौली सीमामा अलपत्र तनहुँवासीको उद्धार

दमौली ।

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि पुगेका तनहुँवासी सुनौली सीमामा अलपत्र परेपछि उद्धार थालिएको छ । कोभिड–१९ को जोखिमपछि जिल्ला फर्कन लागेका तनहुँवासी सुनौली सीमामा अलपत्र परेपछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको पहलमा उनीहरुको उद्धार शुरु गरिएको हो ।

सुनौली सीमामा आइपुगेका देवघाट गाउँपालिकाका तुलबहादुर गुरुङले त्यहाँ रहेका तनहुँवासीको तथ्याङ्क उपलब्ध गराएपछि उनीहरुलाई उद्धारको पहल गरिएको सामाजिक अभियानकर्मी खड्क आलेमगरले जानकारी दिए । भारतीय प्रहरीले नेपालीलाई सीमासम्म ल्याएर छाडिदिएको गुरुङलाई उद्धृत गर्दै मगरले बताए । “भारतीय पक्षले नेपालीलाई सीमा कटाएर अलपत्र पारेर छाडिदिएको त्यहाँ रहेका तनहुँवासीले भन्नुभएको छ, त्यहाँ रहेका तनहुँवासीको तथ्याङ्क सङ्कलन गरेर प्रशासन कार्यालयमार्फत उद्धार शुरु भइसकेको छ”, उनले भने ।

Batas

सीमामा अलपत्र परेका तनहँुवासीलाई उद्धार गर्नका लागि जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेसँग समन्वय गरेको आलेले बताए । आलेका अनुसार त्यहाँ रहेकामध्ये २५ जनालाई शुक्रबार नै उद्धार गरेर जिल्ला फर्काइएको छ । उद्धार गरिएकामध्ये देवघाट गाउँपालिकाका दुई, ऋषिङ गाउँपालिकाका छ, भीमाद नगरपालिकाका १०, म्याग्दे गाउँपालिकाका तीन, घिरिङ गाउँपालिकाका तीन र व्यास नगरपालिकाका एक रहेका छन् ।

साथै सोही ठाउँमा रहेका जिल्लाका विभिन्न ५० तनहुँवासीमध्ये ३० लाई उद्धार गर्नका लागि प्रशासन कार्यालयबाट पास उपलब्ध भइसकेको छ । बाँकी २० जनालाई पनि उद्धारका लागि पास बनाउने प्रक्रिया शुरु भएको छ । तीमध्ये घिरिङ गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिकालगायतका ठाउँका छन् ।

उद्धार गरिएकाहरु भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका हुन् । तनहुँका अन्य पनि भारतबाट फर्कन सक्ने भएकाले उनीहरुलाई राख्नका लागि स्थानीय तहले क्वारेन्टिन बनाएका छन् । उद्धार गरेर ल्याइएकालाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा राखिनेछ ।

जिल्लाका १० स्थानीय तहमा हालसम्म १९४ श्ययाको क्वारेन्टिन निर्माण गरिएको छ भने ५०० श्ययाको क्वारेन्टिन बनाउने तयारी स्थानीय तहले गरिसकेका छन् । त्यस्तै पाँच स्थानमा ४२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुको पिसीआर परीक्षणलाई पनि तीव्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । हालसम्म ८२ को स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.