www.tandavnews.com
Fact ~ In search of truth

पाल्पामा कोरोना किट अभाव

तानसेन ।

पाल्पामा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक वृद्धिसँगै कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन नसकेको बताए ।

पछिल्लो तीन दिनमा करीब ४५० नागरिक पाल्पा भित्रिएकामा आइतबार आरडिटी तथा पिसिआरका लागि स्वाब संकलन गरिएको तर सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणका लागि गम्भीरता नदेखाएको भट्टराईको गुनासो छ । उनले भने , “परीक्षण नगरी स्थानीय तहको जिम्मा लगाउन बाध्य छौँ, जिल्लामा भयावह अवस्था आउँछ कि भन्ने चिन्ता छ ।”

Batas

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ भट्टराईले जिल्लामा आएका नागरिकको परीक्षण गर्न किट अभाव रहेको स्वीकारे । उनका अनुसार अहिलेसम्म जिल्लामा आरडिटीका लागि एक हजार र पिसिआरका निम्ति साढे चार सयको हाराहारीमा किट रहेकामा अब आकस्मिक जाँचका लागि बाहेक पर्याप्त छैन ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यज्ञेश्वर पन्थीका अनुसार गत चैतदेखि अहिलेसम्म जिल्लामा आएका करीब ६०० जनामध्ये ५५१ जनाको आरडिटी तथा ७९ जनाको पिसिआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको छ । अब १७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर तथा नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पालीको उद्धार गरी जिल्लामा ल्याएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । पाल्पा आएका नागरिकलाई तानसेनमा स्थापित क्वारेन्टाइनमा राख्ने, आरडिटी र पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिए आइसोलेशनमा पठाउने र नेगेटिभ देखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने व्यवस्था गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक मीरा मरासिनीले जानकारी दिइन् ।

स्थानीय तहमा लगेपछि पुनः १४ दिन क्वारेन्टाइनमा राख्ने तथा आरडिटी गरेर एक हप्ता होम क्वारेन्टिनमा बस्ने गरी पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण समिति पाल्पाको मङ्गलबार साँझ बसेको बैठकले प्रदेश र सङ्घीय सरकारसँग किट माग गर्ने निर्णय गरेको छ । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.