www.tandavnews.com
Fact ~ In search of truth

क्यान्सरको उपचारका लागि आएका बिरामी र कुरुवाको बिचल्ली

नारायण अधिकारी
चितवन, रासस ।

यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ ।

अस्पतालको तथ्याङ्कअनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी रहेको छ । उनीहरुमध्ये अधिकांशले अस्पतालकै खाली चौरमा खाना पकाउने र बरण्डा, प्यासेजमा बिरामीसहित रातको समयमा ओत लाग्ने गरेका छन् । सिराहाबाट बिरामी बुबालाई लिएर उपचारका लागि वैशाख २२ गते क्यान्सर अस्पताल आइपुगेका सुरेशकुमार यादव त्यसयता खुला आकाशमुनि खाना खानु र बिरामीको रेखदेख गर्दै अाएका छन् । “न उपचार नै पाइएको छ । न त बस्न र खानका लागि कतै ठाउँ नै छ”, उनको गुनासो छ ।

Batas

“अस्पतालमा आएर उपचार गरेर घर फर्कने समय हुँदासम्म अस्पतालले भर्ना गर्न मानेको छैन”, उनले दुखेसो पोखे । अस्पताल आएको केही दिन अस्पतालभित्रै रहेको चमेनागृहमा खाना खाएको भए पनि पछिल्लो समय त्यहाँ पनि खाना खानका लागि सहज वातावरण नबनेको उनको भनाइ छ । उनले भने , “अस्पतालमा उपचारका लागि भर्ना गरेका बिरामीलाई मात्र भवनमा पस्न दिइएको छ, अरुलाई बाहिर नै राखिएको छ ।” उहाँले थप्नुभयो, “बिरामी भर्ना गरेकालाई पास देखाएर भित्र जान दिइएको छ अन्य खुला आकाशमुनि बस्न बाध्य छाँै ।”

यस्तै सर्लाहीबाट मामाको उपचारका लागि आएका रमित कपाडले उपचारका लागि समय लाग्ने भए पनि गाँसबासको व्यवस्था गरिदिन आग्रह गरे । चौरमा बसेर खाना खाँदै गरेका उनले बिरामीको भर्ना गर्नसमेत कठिन भएको बताए। “फर्किऊँ अस्पताल आएर उपचार नगरी कसरी फर्किऊँ, बसौँ भने बस्ने र खाने ठाउँ छैन”, उनले भने । पानी पर्दा कहाँ बस्ने कहाँ के खाने झन् ठूलो समस्या हुने उनको भनाइ छ ।

पर्साबाट बिरामी श्रीमती लिएर उपचारका लागि आउनुभएका गौरीशङ्कर यादवले अस्पतालमा आएर झन् दुःख पाएको बताए । अस्पतालले उपचारका लागि वैशाख ८ गते बोलाएको भए पनि आउँदा उपचार पाउन नसकेको उनको गुनसो छ । उनले भने , “उपचारका लागि समय लाग्ने भए पनि बस्न र खानका लागि आकाशको छानो बनाउनुपरेको छ ।” रातको समय पनि खुलाचौरमै बिरामी लिएर बस्नुपर्ने कस्तो समय आयो उनले दुखेसो गरे।

कञ्चनपुरबाट बिरामी लिएर आएका कान्छाराम चौधरीले विगत १० दिनदेखि चौरमै बास भएको बताए । शुरुआतको समयमा अस्पतालको पेटिमा सुत्नसम्म पाइएको भए पनि अहिले त्यहाँ पनि जान नदिएकाे उनले बताए । चौधरीले भने , “बिरामीलाई उपचारका लागि आफूहरु आएको भए पनि न उपचार समयमा पाइएको छ न खान बस्ननै ।” फर्कनका लागि कसरी फर्कनु न सवारी साधन नै चलेका छन् उहाँले गुनासो पोख्नुभयो ।

लहानबाट बिरामी लिएर आएकी सङ्गीता चौधरी अस्पतालभित्र सञ्चालनमा रहेको चमेनागृहमा समेत हेर्ने दृष्टिकोण फरक रहेको बताइन् । उनले भनिन् , “पैसा तिरेर खान्छौँ भन्दा पनि राम्रो व्यवहार छैन । अहिले त त्यहाँ अस्पतालका कर्मचारी र भर्ना गरेर राखिएका बिरामीलाई मात्र पस्न दिइने गरेको छ ।” बिरामीको उपचार प्रक्रिया शुरु भएमा मात्रै पनि कुरुवा जसरी पनि बस्न सकिन्थ्यो उनको गुनासो छ । अहिले दिनहुँजसो पानी पर्दा खुला आकाशमुनि खाना बनाउनसमेत उनीहरुलाई समस्या भएको छ ।

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण देश नै आक्रान्त बनिरहेको समयमा उपचारका क्रममा आएका बिरामी र उनीहरुको कुरुवाको अवस्था दयानीय बन्दै गएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आवश्यक हुनेलाई मात्र भर्ना लिइएको बताए । अस्पतालमा आज १३३ बिरामी भर्ना भएको र १०० हाराहारी बाहिर रहेको उनले बताए । ५० बिरामी राख्न मिल्ने कुरुवा घर भरिएको र बाहिर होटल, रेष्टुरेन्ट बन्द भएपछि बिरामी र कुरुवाका आफन्त बाहिर खान र बस्न बाध्य भएको उनले बताए । दैनिक अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी लिएर ५० हाराहारी एम्बुलेन्स आउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले त्यहाँ बिरामी र कुरुवाको अवस्था दयानीय देखिएको बताए । आफूले अस्पतालभित्र रहेका खाली भवन वा अस्थायी टहरा निर्माण गरेर भए पनि उनीहरुको व्यवस्थापन गर्न निर्देशन दिएको बताए । ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी बिरामीसँग एक जना आफन्त मात्र पठाउन अनुरोधसमेत गरेको भट्टराईले जानकारी दिए । सामान्यतया तीन साताको फरकमा क्यान्सरका बिरामीलाई केमो दिने गरिन्छ । टाढाबाट आएका बिरामी जान आउन कठिन भएकाले त्यही बाहिर बसेर कुर्ने गरेको पाइएको छ । यसैगरी केही विभागमा बहिरङ्ग सेवा नियमित नहुँदा र बिरामीको परीक्षणका नतिजा आउन ढिलाइ गर्दा पनि कुर्ने बिरामीको सङ्ख्या थपिएको हो ।

विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपाल र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । यस अस्पतालले वार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.