www.tandavnews.com
Fact ~ In search of truth

ए एण्ड बी प्रकरणः खण्डनमाथी ‘लताको असन्तुष्टि’

(मिती २०७७ जेष्ठ १३ गते मंगलवार ताण्डव न्यूजमा ‘ए एण्ड बी’ प्रकरण ः सेयर सदस्यको गुनासो शिर्षकमा प्रकाशित खण्डनप्रति ‘ए एण्ड बी’की सिइओ एस.लता पराजुलीले जनाएको असन्तुष्टि जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।)

 

१. मेरो श्रीमान् म सँग सम्पर्क विहिन नै हुनुहुन्छ । म सुन्छु, म नभएको बेला सासु आमा र हस्पिटलमा आएर भेटघाट गर्नुहुन्छ उहाँ । मेरो छोरीले पनि भन्छिन् यो कुरा । भेटघाट उहाँहरु गर्ने, कुरा गर्ने, सम्पर्क गर्ने, अनि म सँग सम्पर्क भएको प्रचारवाजी गर्ने ? यो सबै झुटो हो । म सँग श्रीमान् सम्पर्क विहिन हुनुहुन्छ ।

२. म  इमर्जेन्सी काममा र बिदामा बाहेक अरु बेला प्रत्येक दिन हस्पिटलमै, अफिसमै हुन्छु र काम गर्छु । पदले म सिइओ भएपनि र उहाँहरु भन्दा धेरै सेयर मेरो भएपनि हस्पिटलको महत्वपुर्ण निर्णय गर्दा , जस्तै कर्मचारी राख्दा, मेनेजर राख्दा र अन्य कामहरु गर्दा मलाई कुनै पनि सर सल्लाह नगरि एक शब्द सोध्दा पनि नसोधि आफु खुसी राख्नुभयो । तर म केहि बोलिनँ, चुपचाप बसें ।

Batas

मेरो ठाउँमा उहाँहरु भएको भए उहाँहरुलाई पनि चित्त दुख्थयो होला नी ? मलाई सोधेको भएपनि मैले प्रतिवाद त गर्ने थिइनँ । तर आफुखुसी निर्णय उहाँहरु गर्ने अनि मलाई आरोप लगाउने ?

मैले आफुले गर्ने काम सत प्रतिशत गरिरहेको छु, तर पनि उहाँहरुले अनेकौं आरोप लगाइरहनु भएको छ । स्टाफ न आएको बेलामा म आफैं बिरामीहरुलाई एक्सरसाइज थेरापीमा गएर दिनभर एक्सरसाइज गराउने, बिरामीहरुको अवस्थाको बारेमा रिपोर्ट गराउने मा गरिरहेको हुन्छु । काम गर्दैन भन्ने यस्तो सबै झुठो हो । मलाई बदनाम गराउने खेल खेल्दैछन् ।

३. म बिरामी वा कर्मचारी कसैसँग पनि झगडा गरेको छैन । हस्पिटलमा काम गर्ने कर्मचारी र आउने बिरामीहरुसँग पनि बुझ्न सकिन्छ । यस्तो घटिया आरोप लगाउनेले, आरोप पुष्टि पनि गर्नुपर्छ । कर्मचारी सानो होस् या ठूलो सबैलाई सम्मान गर्छु । बरु कर्मचारीहरुलाई थर्काउने, धम्काउने, काम छोडेर जानुस् तपाई जस्तो कर्मचारी अरु आउँछन् भनेर दक्ष कर्मचारीहरुलाई अपमान गर्ने काम उहाँहरुले गर्नुभएको छ ।

४. म कसैसँग नमिल्ने कुरा त हुँदैहुँदैन । हस्पिटल जस्तो संवेदशिल संस्थामा कसरी बस्नुपर्छ राम्रो जानकारी भएको मान्छे हुँ र त आजसम्म अपमानित हुँसम्म पनि सहेर बसिरहेकी छु । जो कोहीले यसरी सहेर बस्न सक्दैनन् ।

सेयर धनीहरु पटक पटक मेरो अफिस रुममा आएर टेबल ठटाएर झगडा गर्दै ‘जा तँ कहाँ गएर के गर्न सक्छस् ‘ भनेर धम्कीपुर्ण भाषाशैली प्रयोग गरिरहेका हुन्छन् ।  पटकपटक म माथि आक्रमक शैलिमा प्रस्तुत हुन्छन् । तर म हस्पिटल जस्तो संवेदनशिल संस्थाको बद्नाम नगरौं भन्ने हेतुले चुपचाप सहेर बसिरहेकी छु । यो कुरा त्यहाँ कार्यरत सबैजसो कर्मचारीहरुलाई पनि थाहा छ । अपशब्द उहाँहरु बोल्ने, मलाई अपशब्द बोल्यो भन्ने ? म माथी लगाइएका सबै आरोप मिथ्या हुन् ।

असत्य टिक्दैन भन्ने कुरामा म विश्वस्त छु । आखिर सत्यको जित हुन्छ नै । एउटा नारीमाथी पटक पटक मिथ्या आरोप लगाउनुभन्दा , अपमान गर्नुभन्दा , मुख्य सेयर धनीलाई खोज्न उहाँहरु किन सक्नुहुँदैन ? बेलाबेला भेट्नुभएको छ, अनिलबाबु पराजुलीलाई उहाँहरुले । छलफल गर्न किन सक्नुहुन्न ? मैले अनिलबाबु पराजुलीलाई खोज्न कहिल्यै रोकेको छैन ।

५. मैले हस्पिटल बन्द गर्छु कहिल्यै भनेको छैन । आफ्नो रवैया देखाउँदै पटकपटक हस्पिटल बन्द गराउने धम्की उहाँहरुले दिंदै आउनुभएको छ । कहिलेकाहिं प्यारालाइसिसको बिरामी भर्ना नै नगरी अर्को हस्पिटल पठाउने र भर्ना गरिएका बिरामी हस्पिटल बस्न चाहेका बिरामीहरुलाइ पनि डिस्चार्ज गरि पठाएका छन् । यो कुरा सबैजसो कर्मचारीहरुलाइ थाहा छ । लकडाउनमा पनि बिरामीहरुलाई एक्कसी डिस्चार्ज दिएर कर्मचारीहरु जेठ ९ गतेबाट न आउनु अब हस्पिटल बन्द हुने अवस्थामा छ भनेर उहाँहरुले भन्नुभएको छ । त्यहाँ कार्यरत कर्मचारीलाई सोध्दा पनि यो प्रष्ट हुन्छ ।

६. मलाई पटक पटक अंगिकृत नागरिक भनेर धम्की दिइरहेका छन् । म विहे गरेर नेपालमा आएकी छु, नेपाली नागरिकता बोकेकी छु । मेरो १३ वर्षकी छोरी छिन् । हस्पिटलले एक वर्ष सम्म तलब दिएको छैन, सिइओबाट मलाई नै निकाल्छन्, अनि मलाई नै पटक पटक अपमान गर्छन् । अनि मैले न्याय पाउनकोलागि नेपालकै छोरी हुनुपर्ने हो र ? न्याय त सबैले पाउनुपर्छ नि, होइन र ?

७. ८० प्रतिशत सेयर र हस्पिटल नै अनिलबाबु पराजुलीको हो र म उहाँको श्रीमती । तर, यतिबेला मलाई घरपरिवार कसैको सपोर्ट छैन । श्रीमान् २ वषैदेखि सम्पर्कविहिन हुनुहुन्छ । यस्तो बेला २० प्रतिशत सेयर धनीहरु मिलेर सिइओबाट निकाल्ने, तलब नदिने  जस्ता हर्कतहरु उहाँहरुले गरिरहनुभएको छ । श्रीमान् सम्पर्कविहिन हुनुभएको एक दुई महिनादेखि उहाँहरुले यस्तो गर्दै आउनुभएको छ ।

मैले न्यायकोलागि धेरै ठाउँमा पहल गरें । म जहाँजहाँ जान्छु, उहाँहरु त्यहि गरेको मेरो गल्ती देखाउँदै भड्काउदै जानुहुन्छ, झुठो बोलेको हो लताले भन्छन् र भ्रम सिर्जना गर्छन् । अहिलेसम्म मैले न्याय पाएको छैन ।

८. मेरो तलब रोकिन्छ । मैरै हस्पिटलमा मलाई सिइओ पदबाट हटाइन्छ, मलाई नै अपमान गरिन्छ र मलाइ नै झुठो आरोप लगाइन्छ । अनि मैले यस्ता सेयर धनिबाट कस्तो अपेक्षा गर्ने ? मलाई पनि आर्थिक समस्या पर्छ, छोरी पढाउनुपर्यो, खानु पर्यो, नावालक छोरी बोकेर म काहाँ जाने ? तपाइहरु आफैँ सोच्नुहोस्, म कति पिडित छु ।

९. मैले पटक पटक मिलेर जाउँ भनेर अनुरोध गरें तर उहाँहरुले मलाई नै लखेट्ने खेल खेल्नुभएको रहेछ । एक्कासी सबै मिलेर मलाइ नै सिइओबाट निकालेको जानकारी दिनुभयो । मेरो श्रीमानको नाममा भएको सम्पत्ती त्यहि हस्पिटल हो । त्यो पनि तिनिहरुलाई दिएर म कहाँ जाउँ त्यो नाबालक छोरी लिएर ? मेरो छोरीको लागि पनि म अन्तिम सास रहुन्जेलसम्म न्यायको लागि र अधिकारको लागि लडिरहने छु ।

१०. मैले पटक पटक थेरापीको कर्मचारीको तलब बढाउन अनुरोध गरेको थिएँ तर उहाँहरुले थेरापी डिपार्टमेन्टमा काम गर्ने कमचारी २० देखि २२ महिनासम्म तलब नबढाएकाे गुनासो गर्दापनि सुनेर पनि नसुनेजस्तो गर्नुभएको छ । थेरपी डिपार्टमेन्ट मैले हेर्ने भएकै कारण उहाँहरुले कर्मचारीहरुलाई बेवास्ता गर्नुहुन्छ । अरुको तलब भने बढाउनुहुनछ । कर्मचारीहरुले गुनासो गर्दा उल्टै थर्काउने धम्काउने उहाँहरुले नै गर्नुभएको स्वयं कर्मचारी बताउँछन् ।

११. मैले आफ्नो इज्जतकोलागि पनि धेरै सहे, अब त अति भयो । मेरो चुल्हो नै बन्द हुने अवस्था यिनिहरुले पुर्याइरहेका छन् । यिनिहरुले भोलि म माथी जे पनि गर्न सक्छन्, म चुप लागेर बस्ने कुरा आउँदैन ।

मेरो तलब रोक्ने, सिइओबाट निकाल्ने अधिकार कस्ले दियो यिनिहरुलाई ? मलाई हटाएर , हस्पिटल नै हडप्ने दाउमा उनिहरु छन् ।

१२. मलाई नमिल्ने स्वभाव भन्नु भएको रहेछ । मलाई लखेट्ने खेल पहिलेदेखि गरिरहनुभएको थियो र यस्ता निरर्थक आरोप लगाइरहनुभएको छ । हस्पिटलमै कार्यरत कर्मचारीहरुलाई सोध्दा पनि हुनछ, म कसरी प्रस्तुत हुन्छु भनेर ।

उनिहरुलाई यो पनि प्रश्न गर्न मन छ । के मेरो स्थानमा तपाइहरुको दिदिबहिनि भइदिएको भएपनि यसरी नै व्यवहार गर्नुहुन्थ्यो ? चुपचाप बस्नुहुनथ्यो ?

१३. जेठ ९ गतेदेखि हस्पिटल बन्द गर्ने तलब दिन सकिदैन, हस्पिटल नआउनु होला भनेर कर्मचारीहरुलाई भनेका छन् । १० गतेदेखि कर्मचारीहरुपनि आएका छैनन् । हस्पिटलको थेरापीमा चाबी लगाएर गएका छन् । मैले तपाइहरुले चाबी लगाउन मिल्दैन भन्दा, तेरो हस्पिटल होइन भनेर अपशब्द बोलेका छन् हस्पिटलकै जिम्मेवार मान्छे । उनिहरुले हस्पिटललाइ विर हस्पिटको पिसाव फेर्ने ठाउँजस्तो बनाइदिन्छु भन्दै हिँडेका छन् ।

१४. हास्यास्पद कुरा मेरो हस्पिटलमा आएर मलाइ नै जागिर दिएको, नेपाली बोल्न नआउने, भारतीय अंगिकृत नागरिक भन्नुभएको रहेछ । सबैलाई एकमुस्ट जवाफ, मैले जिरो लेभलबाट सुरु गरेको हस्पिटल आज यो अवस्थामा ल्याउने मान्छेलाई केहि वर्ष पहिले मात्रै छिरेका २० प्रतिशत सेयरधनीले मलाई नै रोजगार दिएछन् ?

म सँग नेपालीमा वा अंग्रेजीमा के मा बहस गर्ने तयार छु म । म आफ्नो अधिकारकालागि तपाइहरुको धम्कीले रोकिन्नँ ।

१५. अर्को कुरा मेरो तलब स्केल समिति र सेयर धनीले नै तोकिदिनुभएको हो । मैले यति दिनुपर्छ भनेर कहिल्यै भेनेकि छैन र अडान पनि राखेकि छैन । कुरो मिल्दासम्म हस्पिटललाई दुहुनो गाई बनाएर खानु भयो र कुरा नमिलेपछि हस्पिटललाई थारो गाई बनाएर छोड्दै हुनुहुन्छ उहाँहरुले । मलाई अंगिकृत नागरिकतालाइ लिएर जुन कुरा बोल्नुभएको छ, यसमा मेरो आपत्ति छ । म मेरो देश छोडेर, कसैसँग नाता जोडेर आएको छु । विदेशी नागरिकसँग विहे गर्नुहुँदैन, अर्को देशमा गएर रोजगार गर्नु हुँदैन भनेर कुन कानुनमा उल्लेख छ ? यस्तो कुरा गर्न उहाँहरुलाई सुहाउँछ कि सुहाउँदैन ?

१६. मैले उहाँहरुको सेयर फिर्ता गर्छु, समय दिनुस् भनिरहेकी छु । तर उहाँहरुले मलाई अनेकौं आरोप लगाउदै मेरो बेइजजत गर्नै ध्येय लिएर हिँडिरहनुभएको छ । मलाई आरोप लगाएर आफुहरु महान बन्ने सोच नबनाउनुस् । असत्य कहिल्यै टिक्दैन । अपमान कसैको लागि सैह्य हुँदैन ।

सम्बन्धीत न्यूज

‘ए एण्ड बी’ प्रकरण : सेयर सदस्यको गुनासो

फलोअप : ए एन्ड बी अस्पतालमा अरु कर्मचारी पनि पीडित

राधाकृष्ण जी ! तपाईंको धम्कीले कलम रोकिन्न

ए एण्ड बी अस्पतालमा विवाद, ‘अन्याय भयो’ : सिइओ लता

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.