www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

पोखरा-१९ : बाँदरले हैरान पार्‍याे, धपाउने कि बाँदर विरोधी खेतीमा जोड दिने ?

hima aus

जमुनावर्षा शर्मा
चिप्लेढुङ्गा, रासस ।

पोखरा महानगरपालिका वडा नं १९, लामाचौरमा मकैबारीमा एक हुल बाँदर मकै खाएर बसिरहेको थियो । बाँदर धपाउँदा धपाउँदा हैरान भएर आफ्नै बारीको मकै बाँदरले सत्यानाश गर्दा टुलुटुलु हेर्नुकाे विकल्प किसानलाई छैन ।

“बारीमा मकै छर्नु मात्र, सधैंँ यस्तै हुँदा कति साध्य लाग्छ बिहानदेखि बेलुकासम्म हेरेर बस्न ? अब त दिक्क लागिसक्यो, खेती नै नगर्ने सोचमा पुगेको छु ।” बाँदरले बारीका मकै छरपष्ट पारेर बोट खाली गरेको देखेपछि स्थानीयवासी किसान मोहनबहादुर खत्रीले चिन्ता व्यक्त गरे । “यस्तो भएपछि कसरी खेती लगाउने, देखिहाल्नुभयो” बाँदरले खाएको बारी देखाउँदै उनले भने। खत्रीले आफूले लगाएको बाली बाँदरले सखाप पार्न थालेपछि खेतीयोग्य केही जमीन नै कुखुरा पाल्नका लागि भाडामा दिएका छन् ।

Batas

मकैबारीभन्दा केही तल गह्रामा आली सम्याउँदै गरेका स्थानीयवासी पार्वती भण्डारीले दैनिक रु पाँच सय दिई हेरालु राखेर खेती जोगाउनुपर्ने बाध्यता रहेको गुनासो गरिन् । “सधँै यस्तै दुःख, मेहनतको त मूल्य नै छैन, खेती जोगाउन साह्रै मुश्किल छ, अब धान रोपेपछि दैनिक ५ सय दिई हेरालु राखेर खेती जोगाउनुपर्छ । किसानका आवाज सुन्ने कुनै सरकार भएन ।” उनले जतिपल्ट बाँदर नियन्त्रणका लागि सरकारसँग आग्रह गरे पनि समाधान नभएपछि दिक्क भएको बताए। उनलाई मास, भटमास, धान र मकै जे लगाए पनि बाँदरबाट जोगाउन गाह्रो भएको छ ।

वडाध्यक्ष शोभामोहन पौडेलले बाँदर व्यवस्थापनको उचित प्रबन्ध हुन नसक्दा बाँदर विरोधी खेतीमा जोड दिन किसानलाई आग्रह गर्न थालिएको बताए । “बाँदर नियन्त्रण स्थानीय तहबाट हुने सम्भावना देखिँदैन, सबैले बाँदर नियन्त्रण भएन भन्नुहुन्छ, नियन्त्रणको उपयुक्त उपाय दिनुहुँदैन, संघीय सरकारले नै नीति तथा कार्यक्रम र बजेटमा नै बाँदर नियन्त्रणको विषय समेट्नुपर्ने हो, निकै जटिल, भन्दा सामान्य सुनिन्छ तर कार्यान्वयनको पक्ष भनेजस्तो सहज छैन ।” उनका अनुसार वडा नं १९ का २१ ठाउँमा बाँदरबाट किसान सताइएका छन् ।

classic tech

“हेरालुका लागि मासिक २० हजार रुपियाँ दिएर खेती जोगाउन पनि सहज हुन्न, यदि दीर्घकालीन रुपमा बाँदर नियन्त्रण हुन्छ भने ५० लाख रुपियाँ छुट्याउन पनि समस्या थिएन, उपयुक्त विकल्प नै भेटेका छैनौँ ।” उनले बाँदर रुखमा बस्ने भएकाले तारबार जालीले पनि सम्भव नहुने बताए । उनले भने “वन संरक्षण गर्नुपर्ने, बाँदर मार्न पनि नपाइने कानून छ, समस्या दिनदिन थपिएको छ । त्यसैले बाँदर विरोधी खेतीको लागि अदुवा, बेसार, अम्रिसो, खेतीतर्फ जोड दिनुपर्ने देखिएको छ ।”

लामाचौरदेखि सार्दीखोलासम्म, काभ्रे जङ्गलदेखि घार्मीसम्म जताततै बाँदरले सताएको छ । केन्द्रबाटै स्पष्ट नीति नआएसम्म स्थानीय तहबाट मात्र समस्याको समाधान हुन नसक्ने उनको भनाइ छ ।

स्थानीयवासी राधा गौतमले बाँदर आतङ्कले साह्रै सताएपछि प्रशासनको स्वीकृृतिमा २०६७ सालमा नै आलुबम पड्काएर बाँदर धपाउने प्रयास भए पनि सफल नभएको बताइन् । “हामीले साविकको लामाचौर गाविस ५ र ६ मा महिला समाजकल्याण आमा समूहमार्फत ‘वन्यजन्तु जोगाउने कि खेती जोगाउने’ भनेर जिल्ला प्रशासन पुगेका थियौँ । प्रत्येक घरधुरीबाट २ सय रूपियाँ उठाएर प्रशासनको सहयोग र वडा प्रहरी कार्यालय बगरको समन्वयमा बाँदर धपाउन आलु बम फालेर केही दिन पहल पनि ग¥यौँ तर आगो बालेर बम फाल्दा एक दिन मेरो हातमै बम पड्क्यो, तत्काल अस्पताल गएर निको भयो”, हातमा लागेको चोटको खत देखाउँदै गौतमले भनिन् । त्यस दिनदेखि डराएर बाँदर धपाउने अभियान रोकिएको उनले बताइन्।

बाँदर नियन्त्रण नहुँदा कृषितर्फ किसान निरुत्साहित हुँदै गएकाले पहिला बाँदरबाट कृषि जोगाउन विशेष पहल भएपछि बल्ल अरु योजनामा बहस उपयुक्त हुने उनको भनाइ छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...