www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासी : कीर्ते अभियोगमा फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा

परासी ।

लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैँ अदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ ।

अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । वडाध्यक्षसहित पाँच जनाविरुद्ध विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा कीर्ते गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा परेको थियो ।

Batas

सोही मुद्दामा तत्कालीन वडा सचिव गोविन्द कहार र कीर्ते कागज प्रयोग गर्ने रामग्राम–५ की रुक्शाना शेष पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मितिलाई केरमेट गरी फरक मिति बनाएर प्रतिलिपि जारी गरेको भन्दै वडासचिव र वडाध्यक्षसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरको मुद्दा दायर भएको थियो ।

रामग्राम–५ का सुबेदार शेष र रुक्शानाको विवाह दर्तामा कायम भएको मितिलाई प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुबेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न भनिएका वडाध्यक्ष गुप्ता, तत्कालीन वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो । प्रतिवादीमध्ये नन्दलाल पनि रु ६० हजार धरौटीमा रिहा भएका थिए । कार्यालय सहयोगी अमरलालको केही दिन अगाडि मृत्यु भएको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.