www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका सबै जिल्लामा रङ्गशाला बनाइने

कास्की ।

सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा एक/एक वटा रङ्गशाला बनाउने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेशसभामा सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रङ्गशाला निर्माण गर्ने नीति लिइने जानकारी दिए ।

Batas

सरकारले प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ । आगामी फागुनमा प्रदेशमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने निर्णय यसअघि नै गरिएको छ ।

यसअघि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ को बजेटका सिद्धान्त तथा प्राथमिकता सदनमा प्रस्तुत गर्दै आगामी वर्ष पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिने बताएका थिए ।

सरकारले स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह एक खेलकूद मैदान कार्यक्रमलाई आवश्यकतानुसार निरन्तरता दिइने जनाएको छ ।

नीति तथा कार्यक्रममा प्रदेशमा खेलकूदको संस्थागत विकास गर्न आवश्यक कानून तर्जुमा गर्ने, नेपाल सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रङ्गशाला, उच्च हवाई खेलकूद तालिम केन्द्र र क्रिकेट रङ्गशालालगायतका खेलकूद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिने उल्लेख छ ।

सरकारले चालू वर्षमा स्थानीय तहसँगको सहकार्यमा २२ गाउँपालिका र पाँच नगरपालिकामा खेल मैदान र स्थानीयस्तरको रङ्गशाला निर्माण कार्य अघि बढाइएको जनाएको छ ।

नेपालमा आयोजना गरिएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतका आठवटा खेल प्रदेश राजधानी पोखरामा सफलतापूर्वक सम्पन्न भएको र सो प्रतियोगितामा पदक विजेता यस प्रदेशका खेलाडी र प्रशिक्षकलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.