www.tandavnews.com
Fact ~ In search of truth
Muglan REstaurent & bar

गण्डकीकाे नीति तथा कार्यक्रम : सत्तापक्ष भन्छन् ‘समयसापेक्ष छ’, प्रतिपक्षी भन्छन् ‘नागरिकको भावना समेटिएन’

पोखरा ।

गण्डकी प्रदेशसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका सदस्यले सरकारले ल्याएको नीति तथा कार्यक्रम समयसापेक्ष र उपयुक्त भएको भन्दै समर्थन गरेका छन् । प्रतिपक्षी दलका सदस्यले भने नागरिकको भावनालाई समेट्न नसक्ने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै आलोचना गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा सदस्य दीपक कोइरालाले कोरोनालाई परास्त गर्न सीमित स्रोत साधनका बाबजुद प्रदेश सरकार क्रियाशील रहेको बताउँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशलाई समाजवादोन्मुख बनाउनेतर्फ लक्षित छ भने । “सरकारको नीति तथा कार्यक्रमले जनस्वास्थ्य, कृषि, रोजगारी, महिला, दलितलगायत हरेक क्षेत्र र वर्गलाई समेट्न खोजेको छ”, उनले भने, “परिवर्तित व्यवस्थाअनुरुप कार्यशैलीमा पनि परिवर्तन गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ ।”

अर्का सदस्य ओमकला गौतमले कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न परिस्थिति तथा जनताको दुःख र संवेदना सरकारले बुझ्न नसकेको बताए । “नीति तथा कार्यक्रम हेर्दा सरकारसँग यो अप्ठ्यारो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन”, उनले भनिन् , “कोरोना महामारीको विद्यमान अवस्थामा जनताको प्रभावकारी स्वास्थ्योपचारतर्फ सरकार केन्द्रित हुनुपर्छ ।” रेमिट्यान्सले मुलुक चलेको अवस्थामा रोजगारी गुमेर फर्कन लागेका व्यक्तिका लागि सरकारले ठोस नीति दिन नसकेको बताउँदै उहाँले किसानलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरिन् ।

Lama collectio News Middle

सदस्य मनबहादुर गुरुङले प्रदेशवासीको जीवनरक्षा र शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ नीति लक्षित भएको बताए । ‘समृद्ध प्रदेश र सुखी नागरिक’ नाराका साथ स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्नेतर्फ नीति तथा कार्यक्रम लक्षित रहेको उनले बताए ।

सदस्य खिमविक्रम शाहीले सरकारको नीति तथा कार्यक्रम पढ्दा र सुन्दा राम्रा भए पनि यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण भएको उल्लेख गर्दै व्यवस्था परिवर्तन भएर मात्र नभई आनीबानी र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । ढोरपाटन क्षेत्र नीति तथा कार्यक्रममा छुटेको बताउँदै उहाँले त्यहाँको पर्यटकीय विकासका लागि सबै क्षेत्रबाट आउने र जाने गरी नयाँ ट्र्याक विकास गर्नुपर्ने औँल्याए ।

सदस्य धनञ्जय दवाडीले कोरोनाको उपचार र रोकथामका लागि सरकारले जनउत्तरदायी रूपमा शुरुदेखि नै प्रयास थालेको उल्लेख गर्दै नीति तथा कार्यक्रमले कोरोना प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको बताए । खानेपानी, ऊर्जा, यातायात हरेक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम आएको बताउँदै उहाँले नीतिमा केन्द्रित रहेर प्रदेश अघि बढ्न खोजेको धारणा राखे ।

सदस्य प्रभा कोइरालाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रदेशको समृद्धिका लागि सरकार लागिपरेको उल्लेख गर्दै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्दै धराशायी भएको व्यवसायलाई फर्काउनेतर्फ सरकार केन्द्रित भएको बताइन् । उनले बहुक्षेत्रीय पोषण सुधार, आवश्यकतानुसार अस्पताल स्थापना, ज्येष्ठ नागरिक उपचार, डायलायसिस सेवा प्रभावकारी बनाउनेजस्ता कार्यक्रमले सरकार जनताको स्वास्थ्यप्रति उत्तरदायी बनेको पाइएको बताइन् । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip