www.tandavnews.com
Fact ~ In search of truth

हजार बढी भारतबाट आएर क्वेन्टाइनमा छन्, स्वाब संकलन गर्ने भाँडा छैन

रुकुम(पश्चिम) ।

कोरोना भए नभएका बारेमा पत्ता लगाउन गरिने पिसिआर टेष्टका लागि व्यक्तिको स्वाव संकलन गर्ने भाँडा भाइरस ट्रान्सपोर्ट मिडिया नहुँदा रुकुम(पश्चिम)मा स्वाब संकलनमा समस्या भएको छ । भारत तथा देशका विभिन्न ठाउँबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राखिए पनि भिटिएम नहुँदा अधिकांशको स्वाब संकलन हुन सकेको छैन ।

हाल जिल्लाका ६ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ३०२ जना रहेकामा तीमध्ये निकै कमको मात्र स्वाब संकलन गरिएको छ । अहिलेसम्म क्वारेन्टिनमा रहेका २७७ जनाको मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

Batas

चौरजहारी नगरपालिकाका १८१ जनाको स्वाब कर्णाली जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र आठबीसकोट नगरपालिकाका ६२, मुसीकोट नगरपालिकाका ३२ तथा सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्लामा भिटिएम नहुँदा क्वारेन्टिनमा रहेका एक हजार २५ जनाको भने अझै कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । शुरुमा प्रदेशले पठाएका केही भिटिएमबाट स्वाब संकलन गरिएकामा त्यसपछि स्वास्थ्य सेवा कार्यालयले खरीद गरेका भिटिएमबाट स्वाब संकलन गरिएको थियो ।

कार्यालयले खरीद गरेको चार सय भिटिएमबाट भारत तथा तेस्रो मुलकबाट आएका, तिनीहरुको सम्पर्कमा रहेका र देशका विभिन्न ठाउँबाट आएका व्यक्तिको स्वाब संकलन गरिएकामा अहिले भिटिएम नरहेको फोकल पर्सन रावलको भनाइ छ । स्वास्थ्य सेवा कार्यालय र जिल्लाका स्थानीय तहले भिटिएम खरीद गर्न खोजे पनि नपाएका कारण कोरोना परीक्षणमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

जिल्लाका लागि ठूलो मात्रामा भिटटिएम खरीद प्रक्रिया चलिरहेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । स्वास्थ्य सेवा कार्यालयले पाँच हजार भिटिएम खरीद गर्न लागेको र जिल्लाका स्थानीय तहले पनि भिटिएम खरीद गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले दुई सय भिटिएम खरिद गर्न लागिएको बताए । नगरमा करीब तीन सय व्यक्ति क्वारेन्टिनमा छन् । तीमध्ये धेरैमा कोरोना जाँच हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.