www.tandavnews.com
Fact ~ In search of truth

डाक्टर सा’बको अपडेटमा किन दोहोरिन्छ त्रुटि ?

– माधव भुसाल

 

गण्डकीमा स्वास्थ्य निर्देशनालय छ भनेर धेरैलाई थाहा थिएन । तर कोरोना महामारीले स्वास्थ्य निर्देशनालय छ भनेर आम जनताले थाहा पाउने अवसर पाए ।

Batas

राज्यले कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन एकद्धार प्राणाली अपनाएपछि प्रत्येक दिन निर्देशनालयले फेसबुकबाट आधिकारीक भनाई राख्छ । त्यही भएर निर्देशनालयकै फेसबुक पेजमा अपडेट हेर्न गण्डकीका फेसबुक प्रयोगकर्ताहरु जोडिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई कोरोना महामारीले देशभर चिनाएजस्तो, डा. विनोद विन्दु शर्मालाई पनि स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक यि रहेछन् है भनेर चिनिने अवसर मिल्यो । मिडिया, सरकारी निकाय, अस्पताल लगायतका क्षेत्रमा काम गर्नेबाहेक सर्वसाधारणको हकमा ।

कोरोनाले चिनाएको निर्देशक डा शर्माले उत्तिकै आलोचनापनि खेप्नु परेको छ । पद पाएको तर काम गर्ने ढङ्ग नभएको मनुवाको रुपमा उनलाई चिनाउने स्वयं उनकै व्यवहारले हो ।  शक्ति राष्ट्रले घुँडा टेकेको कोरोना एक व्यक्तिले मात्र पक्कै पनि रोक्न सक्दैन भन्ने हेक्का सबैलाई छ, शर्मा बाहेक । किन भने उनले कुनै पनि काम गर्दा समन्वयको आवश्यक पर्छ भन्ने ठान्दैनन् । न त सल्लाह सुझाव, न त छलफलकै बाटो खोज्छन् । गर्छन त बस् आफ्नो मनपरी ।

उनको स्वाभाव आफ्नो माताहातका कार्यालयका अधिकारी बाहेक आम जनताले पनि थाहा पाईसकेका छन् । चाहे त्यो उनी बोलेको भिडियोबाट होस् या विज्ञप्तीबाट किन नहोस, आफ्नो गल्ती छताछुल्ल पारेका छन् ।
स्वास्थ्य निर्देशनालयले जेठ १५ गते विहान गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १६ भनेर अपडेट निकाल्यो । बर्दघाट सुस्ता पुर्वका एक पुरुषमा संक्रमण देखिएपछि निर्देशनालयले १६ जनामा संक्रमण देखिएको अपडेट दिएको थियो ।

तर, स्वास्थ्य मन्त्रालयका अनुसार त्यतिबेला १७ पुग्थयो । यसबारे निर्देशनालयका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकीका संयोजक नवराज शर्मालाई यसबारे जानकारी गराउँदा कूल संक्रमित संख्या १६ नै रहेको दाबी गरेका थिए । मैले पुराना अपडेटहरु अध्ययन गर्दा १७ नै पुग्ने दाबीसहित समाचार प्रकाशन गरें ।

उक्त समाचार यो लिंकमा क्लिक गरेर हेर्न सक्नुहुन्छ : गण्डकीमा संक्रमित अपडेटको झमेला : यसरी पुग्छ १७ , स्वास्थ्य निर्देशनालय भन्छ ‘१६ मात्रै हो’

 

जेठ १५ गतेकै दिउसो ४ बजेको स्वास्थ्य मन्त्रालयको अपडेटमा प्रवक्ता विकास देवकोटाले गण्डकीमा कुल संक्रमित संख्या १७ रहेको अपडेट दिए । त्यसपछिका अपडेटमा भने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सच्याएर १७ कै अपडेट दियो । यहाँ स्वास्थ्य निर्देशनालय गण्डकीले अपडेटमा मात्रै पनि केन्द्रसँग सहकार्य नगरेको देखियो ।

अहिले उनको काम भनेकै अन्य स्वास्थ्य सम्बन्धी नभई कोरोना सम्बन्धी मात्र छ तर पनि उनीबाट यो गल्ती अन्तीम गल्ती थिएन । दोस्रो गल्तीले पोखरेलीहरुको सातो खाईदियो । जेठ १८ गते डाक्टर शर्माकै हस्ताक्षरीत विज्ञप्ती जारी भयो । दिउसो ३ बजे स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीले पोखरामा खैलाबैला मात्र मच्चीएन , त्यो सूचना कास्की प्रहरीको टाउको दुखाईको विषय बन्यो ।

विज्ञप्तीमा जेठ ९ गते भैरहवा क्वारेन्टाइनमा बसेर म्याग्दी ल्याइएको एक पुरुषमा कोरोना संक्रमण देखिएको र सोही बसमा आएका २३ यात्री मध्ये २ यात्री पोखरा ओर्लिएको र सम्पर्कमा नरहेको जनाइएको थियो । यस्तै, १ जना आबुखैरेनी, ३ यात्री डुम्रेमा ओर्लिएको र सम्पर्कमा नरहेको जनाएपछि पोखरासँगै आबुखैरेनी र डुम्रे पनि त्रासमा रह्यो ।

सामाजिक सञ्जालमा विज्ञप्ती भाइरल नै भयो । तर पछि थाहा भो, उनिहरु सबै स्थानीय तहकै क्वारैनटाइनमा रहेछन् । निर्देशनालयले केन्द्र मात्रै नभएर स्थानीय तहसँग पनि समन्वय नगरेको यहाँबाट प्रष्ट हुन्छ ।

यसबारे समाधान दैनिकका सम्पादक रामकृष्ण ज्ञवालीले त ‘अफवाह फैलाएकोमा किन पक्राउ नगर्ने’ भन्दै किटान गरेर ब्लग नै लेखे ।

उनको ब्लग पढ्न यस लिंकमा क्लिक गर्नुहोला : डा. विनोद विन्दु ! अफवाह फैलाएवापत तपाईंलाई किन पक्राउ नगर्ने ?

 

यस्तो त्रुटि दोहोरिएन मात्रै, तेहेरियो पनि ।

आज जेठ २१ गते गण्डकीमा एक जना पुरुषमा संक्रमण पुष्टि भएकोबारे जारी गरिएको विज्ञप्तीमा भरतपुर उपमहानगर स्थित कोरोना अस्पतालमा उपचार भैरहेको छ भनिएको थियो । निर्देशनालयजस्तो जिम्मेवार निकायमा काम गर्ने कर्मचारीहरुमा यति जानकारी त हुनुपर्ने हो । भरतपुर उपमहानगर होइन महानगर हो ।

यो बबन्डर मच्चाउने त्रुटी नहोला तर त्रुटी, त्रुटी नै हो । पटक पटक यसरी त्रुटी भइरहँदा पनि संवेदनशिल नहुने स्वभावले उदेक बनाउँछ ।

त्रुटी भएको जानकारीपछि निर्दैशनालयले पोष्ट भएको एक घण्टापछि अपडेटमा इडिट गरेर अहिले भने सच्याएको छ । अहिलेको अपडेटमा तपाइले भरतपुर महानगर नै देख्न सक्नुहुन्छ ।

 

उपमहानगर लेखिएको विज्ञप्ती
इडिट गरेर यसरी सच्याइयो

अर्को गल्ती

कोरोना रोकथाम तथा नियन्त्रणको लागि राज्यले बजेट नै छुट्याएको छ । यो बेला कोरोना रोकथामको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको लागि मात्र नभएर, आम जनतालाई सचेत गराउन पनि उत्तिकै लगानी गरिएको छ ।

सोही अनुसार निर्देशनायले पनि आफ्नो काम अघि बढाउनु पर्ने थियो । तर राज्यको आधिकारीक निकायले प्रत्येक दिन कोरोनाको बारेमा जानकारी दिन आफ्नो फेसबुक पेज प्रयोग नगरी पोखराबाट संचालित एक अनलाइन पेज प्रयोग ग¥यो । सो अनलाइनको लोगो नै भिडियोमा प्रयोग भएपछि अन्य अनलाईनले त्यसलाई हुक गर्ने कुरै भएन । सरकारी कार्यालयले भिडियो मार्फत दिएको जानकारीमा अरुको लोगो हुँदा, हाम्रो अनलाईन ताण्डव न्यूजले पनि त्यसलाई प्रयोग गर्न सकिएन । केहि दिनयता भने निर्देशनालयकै पेजबाट लाइभ आउने गरेको छ ।

डा.शर्माको फोन नम्बर छ, रेस्पोन्स छैन

कोरोनाको त्रास नेपालमा मात्र होइन, संसारभर छ । लकडाउनका कारण घरमा थुनिएर बास्न बाध्य छन् आम जनता । यो महामारीको बेला उनीहरु पलपलको खबर जान्न आतुर हुनु स्वभाविकै हो । त्यही कुरालाई मध्यनजर गर्दै सबै मिडिया आफ्नो अपडेटमा सक्रिय छन्, पोखराको हकमा पनि त्यही हो ।

यता स्वाब टेस्ट हुन पाएको छैन जनता अतुर हुन्छन् ‘आज पोखरामा देखियो होला है’ भनेर । जुन दिन देखी नेपालमा कोरोना भित्रियो त्यो दिन देखीनै पोखारामा पनि भित्रिएको छ कि भन्ने त्रास जनमानसमा रहेको छ ।
अफिसमा फोन आउँछ ‘सर आज त चाउथेमा देखियो रे कोरोना’ । हामीले आधिकारीक कुरा आएको छैन भन्दै नआत्तिन सुझाव दिन्छौं । त्यसपछि यो हल्ला हो या सहि सूचना हो भनेर सोध्न उनै डा शर्माको नम्बर डायल गरिन्छ । तर उनको फोन उठ्दैन ।

उनीसँग नजिक भएका केही पत्रकारलाई फोन गरेर बुझ्न आग्रह गर्छौै । ति पत्रकारसाथीहरुको पनि मुस्कीलले फोन उठाउछन् अनि ‘ म मिटिङमा हो’ भन्दै फोन काटेको गुनासो आउँछ ।

यस्तो संवेदनशील अवस्थामा अन्य सूचानको स्रोत प्रयोग गर्न सकिदैन । त्यसपछि वैकल्पीक स्रोत खोज्दा मिडिया चिप्लिन्छ । आधिकारीक व्यक्तिको फोन नउठ्दा यस अघि पनि धेरै मिडिया चिप्लिएका छन् । गण्डकी प्रदेशका मुख्य मन्त्री किरण गुरुङको भनाई उद्धत गर्दै पोखरामा कोरोना देखियो भन्ने समाचार पनि आयो । आधिकारीक व्यक्तिले फोन रेस्पोन्स नगरेपछि यस्तो गल्ती हुनु स्वभाविकै हो

गण्डकी प्रदेशकै स्वास्थ्य क्षेत्रका मुखिया डा. शर्माले यि कुराहरुलाई मनन गर्दै अघि बढ्नुहुनेछ भन्ने अपेक्षा छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.