
सुर्खेत ।
बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरुषलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए । बिरामी परेका ती पुरुष आकस्मिक कक्षमा ल्याएपछि चार चिकित्सक उपचारमा खटिएको प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिए ।
बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा अस्पताललाई कुनै पनि औपचारिक रूपमा जानकारी नभएको निर्देशक डा खड्काले बताए । “बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा थाहा नै नदिएर उनलाई लिएर आएकाहरुले ती पुरुषलाई सिधै अस्पतालभित्र छिराए र उपचार गर्न लगाए”, उनले भने , “क्वारेन्टिनमा बसेको र कोरोना सङ्क्रमित हुन् भन्ने थाहा नहुँदा उपचारमा एक्सपोजर भएका चार चिकित्सकमा अहिले आतङ्क फैलिएको छ ।”


उनले भने “बिरामीको आरडिटी रिपोर्ट पनि पोजेटिभ रहेछ । उनलाई क्वारेन्टिनबाट ल्याइएको हो भन्ने अगाडि थाहा पाएको भए चिकित्सक पनि पिपिइ सेट लगाएर बिरामीको उपचारमा लाग्थे तर बिरामी ल्याउनेले र गाउँपालिकाले कुनै पनि जानकारी नदिँदा उपचारमा संलग्न चिकित्सकले सामान्य तरिकाले उपचार गर्नु भएछ ।”
निर्देशक डा खड्काले यसरी झुक्याएर बिरामीलाई अस्पतालमा ल्याउँदा उपचारमा खटिने चिकित्सक समस्यामा परेको भन्दै सबैबाट यस्तै व्यवहार भएमा अस्पतालले दिइरहेको सबै सेवाहरु बन्द हुनसक्ने चेतावनी दिएका छन् । क्वारेन्टिनमा खटिएका चिकित्सक र गाउँपालिकाले सही सूचना नदिँदा यो समस्या उत्पन्न भएको जनाउँदै उनले यो विषम परिस्थितिमा सत्यतथ्य सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।
बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिनुपर्नेमा जानकारी नदिएको बारेमा कमजोरी भएको स्वीकार गरेका छन् । रासस
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।