www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको पहिरोमा बेपत्ता मध्ये ८ जनाको शव भेटियो

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राती आएको पहिरोले घर पुरिँदा बेपत्ता बनेकामध्ये ८ जनाको शव फेला परेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शनिवार राती ५२ बर्सिया मीनकुमारी थापा र उनकी नातिनी ८ बर्सिया बिबिसा थापाको शव भेटिएको थियो भने आज बिहान थप ६ जनाको शव भेटिएका हुन् । आज बिहान ३२ बर्सिया कमला बि.क तथा उनकी छोरी ८ बर्सिया प्रमिशा बि.क, ३० वर्षीय दिपा थापा, ५२ वर्षीय तुलबहादुर थापा, १४ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापाको शव भेटीएका हुन् ।

Batas

घरसँगै पुरिएका १६ वर्षीय जेनिस बि.क. भने अझैसम्म पनि फेला परेका छैनन् । बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पहिरो गएलगत्तैबाट उद्धारको काम सुरु गरेका थिए । रातीमा उद्धार गर्न कठिन भएपछि आज बिहानबाट उद्धार कार्य सुचारु भएको थियो । घर रहेको स्थान नै नचिनिने गरी पहिरोले लगेका कारण बेपत्ता भएकाको खोजीका लागि पहिरो स्थानको धेरै भागमा कोदाली र गैँचीले खनीरहनुपरेको छ ।

हिजो साँझ ६ बजेबाट २ घण्टासम्म भएको भीषण वर्षापछि घरहरू रहेको ठाउँभन्दा झन्डै ३ सय मिटर माथिको बन क्षेत्रबाट पहिरो आएको थियो ।

पहिरोमा परी मृत्यु भएकाहरूमध्ये कमला, प्रमिशा र बेपत्ता रहेका जेनिश बि.क. एउटै परिवारका हुन भने, मृत अवस्थामा फेला परेका अन्य ६ जना एउटै परिवारका हुन् । पहिरोले कुल ३ घरमा प्रत्यक्ष असर गरेकोमा कमला र तुलबहादुरको घरको निसान समेत नरहने गरी पुरेको छ । गाउँमा नै पसल सञ्चालन गर्दै आएका भुवन गिरीको घरमा केही क्षति भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.